Pura Samachar

आहा रारा गोल्डकपको २०औं संस्करणको उद्घाटन खेलमा आयोजक सहारा र विभागीय नेपाल एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा

प्रकाशित: January 18, 2022
पूरा समाचार

आहा रारा गोल्डकपको २०औं संस्करणको उद्घाटन खेलमा आयोजक सहारा र विभागीय नेपाल एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा

पोखरा (हाम्रो खेलकुद) – मोफसलकै सबैभन्दा चर्चित र बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा रारा गोल्डकपको २०औं संस्करणको उद्घाटन खेलमा आयोजक सहारा र विभागीय नेपाल एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

आयोजक सहारा क्लबले पोखरामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता ६ देखि १५ माघसम्म पोखरा रंगशालामा हुनेछ ।

दोस्रो दिन हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो दिन भुटानिज युथ स्पोर्ट्स क्लब युके र सहारा र एपिएफबीचको खेल हुनेछ । चौथो दिन मनाङ र हिमालयन शेर्पा पुलिसबीचको विजेताको खेल हुनेछ । पाँचौ दिन संकटा र मछिन्द्र, छैटौ दिन थ्री स्टार र आर्मीबीच क्वाटरफाइनल खेल हुनेछ । सेमिफाइनल १२ र १३ माघमा हुनेछ । फाइनल १५ माघमा हुनेछ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेका छ । संकटा, मछिन्द्र, मनाङ, थ्री स्टार, आर्मी, पुलिस, हिमालयन शेर्पा, एपिएफ, भुटानिज युथ स्पोर्ट्स क्लब युके र आयोजक सहारा गरी १० टोलीको सहभागिता रहेको छ । गतवर्ष संकटा क्लब च्याम्पियन बन्दा अफ्रिकन रुट एसोसिएसन क्यामरुन उपविजेता बनेको थियो ।

प्रतियोगिताको च्याम्पियन हुने टोलीले १० लाख १ हजारसहित शिल्ड प्राप्त गर्नेछन् । दोस्रो हुनेले ५ लाख १ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ प्रक्षेपण गरिएको छ । क्याराभान गोल्ड कपसहित २१ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुन आएको रकम क्लबद्वारा संचालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।

हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । विगत २०७० साल देखि उनीहरु आवसिय रुपमा निशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा–१७ स्थित दोविल्लामा प्रदान गर्दै आईरहेका छ । उक्त एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै यस प्रतियोगिता रहेको हुँदा सम्पूर्ण खेलप्रेमीहरुबाट विगतका बर्षहरुमा जस्तै सहयोगको अपेक्षा राखेका छौ ।

यस प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिकघरना हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । दोस्रो पुरस्कार प्रायोजन सहारा क्लब हङकङ, सर्वोत्कृष्ट खेलाडी पुरस्कार सीताज लाइफ स्टाइलको अप्रिला स्कुटर, सह उप–प्रायोजक मुलवेरी इष्टिच्युट अफ हस्पिटालिटी, अफिसियल स्पोर्ट्स वयर पार्टनर एक्स–टेप, अफिसियल एजुकेसन पार्टनर हिमाअस एजुकेसन कन्सल्टेन्सी, अफिसियल बैंक लुम्बिनी विकास बैंक, फेयर प्ले पुरस्कार प्रायोजक रोयल इन्फिल्ड बुलेट बाईक बुलेट ट्रेडर्स प्रालि, सर्वाधिक गोलकर्ता पुरस्कार हङकङ निवासी कानुन व्यबसायी समाजसेवी देव गुरुङ, सहारा क्लब हङकङ सल्लाहकार, सफल व्यवसायी गेरी गुरुङ रहेका छन् ।

बाबा फाउण्डेशन, मुग्लान रेस्टुरेन्ट एंड बार, सहयोगी संस्था साथै राष्ट्रिय खेलकुद परिषद÷प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा यु.के, सहारा क्लब हङकङ, सहारा क्लब अष्ट्रेलिया समेतको बिशेष सहयोगीको रुपमा रहेको छ ।

साथै यस बर्ष पनि स्वर्गीय सुर्य बहादुर के.सी.को स्मृतिमा उत्कृष्ट पाँच विधाको पुरस्कारलाई अर्पण गरिने छ । प्रतियोगिताको आकर्षकको रुपमा रहेको निर्णायक ट्रफी (रेफ्री), वेष्ट अफ फाईभ ट्रफी, म्यान अफ दि म्याच ट्रफी, सर्वोत्कृष्ट खेलाडी ट्रफी, फेयर प्ले ट्रफी एवं खेलाडी मेडल लगायत म्यान अफ दि म्याच नगद पुरस्कार प्रत्येक म्याच ८ हजारको दरमा सहयोग रकम सहारा यू केले उपलब्ध गराएको छ । प्रतियोगिताको ग्यालेक्सी फोकेबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

यस वर्षपनि ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८’ बाट एक जना राष्ट्रिय खेलाडीलाई ३५ हजार र दोसल्लाले सम्मानित गरिने आयोजकले जनाएको छ । प्रतियोगिता अवलोकन गर्न आउने सम्पूर्ण महानुभावहरुलाई खोप कार्ड अनिवार्य गरिएको छ ।

प्रतिक्रिया