Pura Samachar

जिम्बाब्वेद्वारा श्रीलंका पराजित

प्रकाशित: January 19, 2022
पूरा समाचार

जिम्बाब्वेद्वारा श्रीलंका पराजित

दोश्रो खेलमा घरेलु टोलि श्रीलंकालाई २२ रनले पराजित गर्दै जिम्बाब्वेले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरी गरेको छ।

पालेकेले अन्तर्राष्ट्रिय स्टेडियममा जिम्बाब्वेले दिएको ३०३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ५० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा २८० रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले ६३ रनमा ४ विकेट गुमाएको थियो। पाँचौ विकेटको लागि कामिन्दु मेन्डीस र कप्तान दासुन शनाकाले ११८ रनको साझेदारी गरे। पैतिसौं ओभरमा मेन्डिसको विकेटपछि शनाकाले चमिका करुनारत्नेसंग ६६ रन जोडे। शतक प्रहार गरेपछि पैतालीसौं ओभरमा शनाकालाई तेन्दाई चताराले क्याच आउट पारे जसपछि जिम्बाब्वे खेलमा हावी रह्यो।

श्रीलंकाको लागि कप्तान दासुन शनाकाले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाए जुन क्रममा ९४ बलमा ७ चौका र ४ छक्का प्रहार गरे। कामिन्दु मेन्डिसले ५७, चमिका करुनारत्नेले ३४ रन बनाए। जिम्बाब्वे बलर तेन्दाई चतारा ( १०-१-५२-३ ) र ब्लेसिंग मुजाराबानिले ( १०-०-५६-३ ) ले समान तिन विकेट तथा वेसले मधिभिरे र रिचर्ड नगरभाले समान एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको जिम्बाब्वेले ५० ओभरमा ८ विकेट क्षेतीमा ३०२ रन बनाएको थियो। जिम्बाब्वे कप्तान क्रेग इर्भिनले सर्वाधिक ९१ रन बनाए जुन क्रममा ९८ बलमा १० चौका प्रहार गरे। सिकन्दर राजाले ५६, सिन विलियम्सले ४८ तथा रेगिस चकाभाले ४७ रन बनाए। इर्भिन र विलियम्सले तेश्रो विकेटको लागि १०६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

श्रीलंकन बलर जेफ्री भानदरसेले तिन विकेट ( ९-०-५१-३ ) लिंदा नुवान प्रदिपले २ तथा महेश थिक्सना र चमिका करुनारत्नेले समान एक विकेट लिए।

सिरिजको पहिलो खेलमा श्रीलंका ५ विकेटले विजयी भएको थियो। सिरिजको निर्णायक खेल जनवरी २१ तारिख शुक्रबार खेलिनेछ।

प्रतिक्रिया