Pura Samachar

मोफसलकै प्रतिष्ठित प्रतियोगिता आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै

प्रकाशित: January 20, 2022
पूरा समाचार

मोफसलकै प्रतिष्ठित प्रतियोगिता आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै

काठमाडौं । कोभिड–१९ संक्रमण बढ्दो क्रममा रहँदा मोफसलकै प्रतिष्ठित प्रतियोगिता आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)ले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिता स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन गरिने सहारा क्लबले जनाएको छ । प्रतियोगिताका लागि खोपकार्ड अनिवार्य गरिएको छ ।

प्रदेश सरकारले रंगशालामा एकतिहाइ दर्शक राखेर खेलाउन पाउने बताए पनि आयोजक सहाराले पहिलो चरणका खेल विनादर्शक खेलाउने निर्णय गरेको छ ।

आहा–रारा गोल्डकप पहिलो संस्करणदेखि निरन्तर भएको एक मात्र प्रतियोगिता हो । यो प्रतियोगिता जस्तोसुकै परिस्थितिमा पनि स्थगित भएको छैन ।
प्रतियोगिताको यो २०औँ संस्करण हो । पोखरा रंगशालामा हुने उद्घाटन खेल दिउँसो २ बजे सुरु हुनेछ । विजयी टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछ । पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ ।

विजेताले क्वार्टरफाइनलमा अमेरिकाको टोली बीवाईएसी मिनेसोटाविरुद्ध खेल्नेछ ।

सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता संकटा क्लब, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, एपीएफ, मनाङ–मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी क्लब, सहारा र बीवाईएसी मिनेसोटा यूएसए गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेता टिमले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।

प्रतिक्रिया