Pura Samachar

आयोजक सहारालाई हराउँदै एपिएफ क्वाटरफाइनलमा

प्रकाशित: January 20, 2022
पूरा समाचार

आयोजक सहारालाई हराउँदै एपिएफ क्वाटरफाइनलमा

पोखरा – आयोजक सहारा क्लब पोखरालाई पराजित गर्दै विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब मोफसलको प्रतिष्ठित २०औं संस्करणको आहा रारा गोल्ड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरास्थित पोखरा रंगशालामा बिहीबार भएको पहिलो खेलमा एपिएफले सहारालाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । एपिएफको जितमा आवास लामिछाने र प्रदीप लामाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

खेलको छैटौं मिनेटमा प्रदीप लामाको प्रहारलाई पिटर सेगुनले क्लियर गर्दै आयोजक सहाराको संकट टारे । १४औं मिनेटमा आवास लामिछानेले गोल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाए । आवास र अर्मान्ड विडोमको वान टु वान मुभमा अर्मान्डको पासमा आवासले दुई डिफेन्डरलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।

२३औं मिनेटमा अर्मान्डको पासमा विकी तामाङको पेनाल्टी बक्स भित्रको प्रहार आकासिदा एपिएफ अग्रता दोब्बर पार्नबाट चुक्यो । पहिलो हाफके इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा कप्तान मान बहादुर तामाङको फ्रिकिकलाई गोलरक्षक युया कुरियामाले नियन्त्रणमा लिन नसकेको बललाई मुकुन्द निउरेले गरेको प्रहारलाई एडमा डोम्विया हेडगर्दै बचाउँदा सहारा बराबरीबाट चुक्यो ।

५३औं मिनेटमा कप्तान नविन लामाको फ्रिकिकमा अर्मान्डको हेडर क्रसबारमा लाग्दै बाहिरिदा एपिएफ अग्रता दोब्बर पार्नबाट चुक्यो । ५६औं मिनेटमा सनिश श्रेष्ठको क्रसमा प्रदीप लामाको हेडरलाई गोलरक्षक अभिषेक बरालले पञ्च गर्दै बचाए ।

६०औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारे । रवि थिङको क्रसलाई नियन्त्रणमा लिदै दुुई डिफेन्डर बीचबाट प्रदीपले पहिलो बार च्याप्दै गोल गर्दा गोलरक्षक अभिषेकले कुनै प्रतिक्रिया जनाउन सकेनन् । ६३औं मिनेटमा अर्मान्डको प्रहार पोलमा लाग्दै फर्कदा एपिएफ अग्रता तेब्बर पार्नबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा एपिएफ विजयी हुन सफल भयो ।

अब एपिएफले क्वाटरफाइनलमा अमेरिकाको भुटानिज युथ स्पोर्टस क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । आहा रारामा शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ए डिभिजनका ८ सहित १० टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । साविक विजेता संकटा क्लबसहित, लिगको शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लब, दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, आयोजक सहारासँगै भुटानिज युथ स्पोर्टस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

आहा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । क्याराभान गोल्ड कपसहित २१ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुन आएको रकम क्लबद्वारा संचालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।

एकेडेमीमा हाल तेस्रो ब्याचमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । २०७० साल देखि उनीहरु आवसिय रुपमा निशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा–१७ स्थित दोविल्लामा प्रदान गर्दै आईरहेका छ ।

प्रतिक्रिया