Pura Samachar

हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै पुलिस क्वाटरफाइनलमा

प्रकाशित: January 21, 2022
पूरा समाचार

हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै पुलिस क्वाटरफाइनलमा

पोखरा । नेपाल पुलिस क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै पुलिस क्वाटरफाइनलमा पुगेको हो ।

पोखरा रंगशालामा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएको थियो।

त्यसपछि थपिएको अतिरिक्त समयमा थप गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा पुलिसका तीर्थ राना मगर, निरकुमार राई, सुमन सुवेदी र भोला सिलवालले गोल गरे । पुलिसका कपिल ढकालले बाहिर प्रहार गरे ।

हिमालयनका त्रिदेभ गुरुङ, आशिष गुरुङ, पिस्तोल मुतुम्बा र विश्वास श्रेष्ठले गोल गरे । उल्रिच सीवेको प्रहार पोलमा लागेर फर्किएको थियो ।

पेनाल्टीमा ४-४ को बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।

सडन डेथमा पुलिसका बुद्ध लामा र राम वाजीले गोल गरे । तर, हिमालयनका जीवन गुरुङले गोल गर्दा पूर्ण गुरुङ चुके । उनको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले बचाए ।

पेनाल्टी अघि खेलको ५२ औं मिनेटमा निरकुमार राईले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।

तीर्थ रनमा मगरको पासमा उनले सहजै गोल गरे ।

तर, ५९ औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।

पेनाल्टी क्षेत्रभित्र पुलिसका डिफेन्डर सन्तोष हेमरनलाई लाग्दै फर्किएको बलमा विश्वासले सुन्दर गोल गरे ।

अब पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।

यस अघि बिहीबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २-० ले हराएर एपीएफ क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।

प्रतिक्रिया