Pura Samachar

राजमार्गका होटलमा निगरानी बढाइने

प्रकाशित: August 7, 2020

राजमार्गका होटलमा निगरानी बढाइने

चितवन । इच्छाकामना गाउँपालिकाले कोरोना रोकथामका लागि गाउँपालिकाभित्र सञ्चालित व्यवसायहरुमा कडाइका साथ निगरानी गर्ने भएको छ । गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङको अध्यक्षतामा बसेको कोरोना नियन्त्रण समितिको बैठकले गाउँपालिकाभित्र रहेका होटल, सवारी साधन, तरकारी संकलन केन्द्र (बजार) तथा अन्य सञ्चालित व्यवसायले कोरोनाबाट जोगिन आवश्यक सुरक्षाका मापदण्ड लागु भए नभएको बारेमा निगरानी राख्ने निर्णय गरेको छ ।

विशेष गरेर राजमार्ग क्षेत्रका होटलमा सामाजिक दूरी, मास्क र स्यानिटाइजरको प्रयोगलगायतका विषयमा समितिले निगरानी राख्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिए । काठमाडौं भित्रिने मुख्य राजमार्गमा रहेका मुग्लिन, कुरिनटार, लेवाटार, चुम्लिङलगायतका बजार इच्छाकामना गाउँपालिकाभित्र पर्दछन् ।

यी क्षेत्रमा राजधानी भित्रिने र बाहिरिने यात्रुका लागि सञ्चालित होटल बन्दाबन्दी खुलेसँगै सञ्चालनमा आएका कारण कोरोना संक्रमणको उच्च जोखिम रहने उनको भनाइ छ । “विशेषगरी राजमार्ग क्षेत्रका होटल बन्दादन्दी खुलेसँगै सञ्चालनमा आएका छन्, तीन होटलमा सुरक्षाका उपाय अपनाएको छ कि छैन हामी निगरानी गर्नेछौं,” सापकोटाले भने ।

बैठकको निर्णयानुसार अनिवार्य मास्क प्रयोग गरेर मात्र बाहिरी जिल्ला तथा अन्य पालिकाबाट गाउँपालिका प्रवेश गर्न पाइने छ । गाउँपालिकाले लकडाउन अवधिभर बन्द रहेका होटल व्यवसायीलाई घरभाडा छुट दिनका लागि उद्योग वाणिज्य संघ तथा होटल व्यवसायी संघको समन्वयमा घरधनीलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया