
काठमाडौं । सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ । पूर्व प्रधान न्यायाधीश शर्माको निधनप्रति सर्वोच्च अदालतले दुःख व्यक्त गरेको छ ।
शर्माको निधनमा शोक मनाउन माघ ९ गते (आइतबार) सर्वोच्च अदालतसहित उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत बन्द रहने सर्वोच्च अदालतले जनाएको छ ।
“सर्वोच्च अदालतको प्रधान न्यायाधीशको रूपमा सेवारत रहँदा उहाँले स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्न एवम् न्याय र कानुनका क्षेत्रको विकासका लागि पुर्याउनुभएको योगदान अतुलनीय रहेको,” सर्वोच्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं कमलपोखरीमा वि.सं. १९९१ साल पुस १ गते जन्मिएका पूर्व प्रधान न्यायाधीश शर्माले २०१६ सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरेका थिए । उनी मिति २०५४।१२।३० मा प्रधान न्यायाधीश पदमा नियुक्त भई मिति २०५६।०८।३० सम्म कार्यरत थिए ।
प्रतिक्रिया