
एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले संघर्षपूर्ण जित निकाल्दा शीर्ष स्थानमा रहेको रियल म्याड्रिड हारबाट जोगिएको छ ।
बार्सिलोनाले घरेलु टोली डिपोर्टिभो एलाभेसलाई १–० ले पराजित गर्दै पाँचौ स्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाको जितमा खेल सकिन तीन मिनेट बाँकी रहँदा फ्रान्की डि जोङले गरेको गोल नै निर्णायक बन्यो । उनले ८७औं मिनेटमा फेरान टोरेसको पासमा गोल गर्न सफल भएका थिए ।
घरेलु टोलीमाथि लगातार दवाव सिर्जना गरेपनि बार्सिलोनाले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जोस लुइस सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा समेटिन पुगेको थियो ।
जितसँगै बार्सिलोना २१ खेलमा ३५ अंक जोडेर पाँचौ स्थानमा उक्लन सफल भएको छ । एलाभेस २२ खेलबाट १७ अंक जोडेर १९औं स्थानमा रहेको छ ।
अर्काे खेलमा ला लिगाको शर्षिस्थानमा रहेको रियल म्याड्रिड घरेलु मैदानमा इल्चेसँग २–२ गोलको बराबरीमा रोकिएको छ । दुई गोलले पछि परेको अवस्थामा रियलले बराबरी गोल फर्काएको हो ।
इल्चेका लुकास ब्वय र पेरे मिलाले गोल गर्दा रियलका लुका मोड्रिच र इडर मिलिसाओले गोल गरे । ३३औं मिनेटमा करिम बेन्जेमा पेनाल्टीमा चुक्दा रियल अग्रता लिनबाट बन्चित भएको थियो । ४२औं मिनेटमा लुकास ब्वयले गोल गर्दै इल्चेलाई सुरुवाती अग्रता दिलाए । ७६औं मिनेटमा पेरे मिलाले गोल गरेपछि रियल खेलमा दुई पटक पछि परेको थियो ।
८२औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै रियललाई खेलमा फर्कने संकेत दिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मिलिसाओले गोल गर्दै रियललाई हारबाट जोगाए ।
यो बराबरीसँगै शीर्षस्थानमा रहेको रियलको २२ खेलबाट ५० अंक पुगेको छ । रियलले दोस्रो स्थानको सेभियालाई ४ अंकले पछि पारेको छ । इल्चे २३ अंक जोडेर १५औं स्थानमा रहेको छ ।
प्रतिक्रिया