
पोखरा (हाम्रो खेलकुद)– २० औं आहा! रारा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनलमा बिहीबार ए डिभिजनका चर्चित दुई क्लब मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
यि दुई टोलीबीचको विजेताले २० औं संस्करणको फाइनलमा अर्को विभागिय टोली एपिएफ फुटबल क्लबको सामना गर्नेछ । बुधबार सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा रहेको मछिन्द्र क्लबलाई ३–१ ले हराउँदै एपिएफ दोस्रो पटक फाइनल पुगेको थियो । एपिएफ यसअघि २०६४ मा फाइनल पुगेको थियो ।
आहा! गोल्ड कपको सर्वाधिक सफल टोली मध्येको एक मनाङले यसपटक क्वार्टरफाइनलमा अर्को सफल टोली नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । मनाङ र पुलिसले समान ६ पटक आहा! रारा गोल्ड कपको उपाधि जितेका थिए । जसमा पुलिसले जितेको पहिलो संस्करणको उपाधिको नाम क्याराभान गोल्ड कप थियो ।
आर्मीले भने आहा! गोल्डकपको सर्वाधिक दोस्रो सफल टोली थ्री स्टारलाई १–० ले हराउँदै मनाङसँगको भेट पक्का गरेको थियो । थ्री स्टारले ५ पटक आहा रारा गोल्ड कपको उपाधि जितेको थियो । आहा! गोल्ड कपमा मनाङले १५ औं र आर्मीले नवौं पटक सेमिफाइनल खेल्दैछ । ४ पटक फाइनल खेलेको आर्मीले अहिले सम्म आहा! गोल्डको उपाधि जित्न सकेको छैन ।
मनाङ र आर्मी यो वर्ष पहिलो पटक एक अर्काविरुद्ध भिड्दैछन् । जारी लिगमा नवौं चरण (एक खेल बाँकी) को समाप्तीमा मनाङ अंक तालिकाको दोस्रो र आर्मी तेस्रो स्थानमा छ । मनाङको १९ र आर्मीको १७ अंक छ । जारी लिगको खेल तालिका अनुसार मनाङ र आर्मीको खेल अन्तिम हुनेछ ।
आहा रारा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार र दोस्रो हुने टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतिक्रिया