Pura Samachar

चेपाङको घर जलाएर राम मन्दिर बनाउने कस्तो आध्यात्मिक अवतार हो ?

प्रकाशित: August 9, 2020

चेपाङको घर जलाएर राम मन्दिर बनाउने कस्तो आध्यात्मिक अवतार हो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवको माडीमा चेपाङको घर जलाएर राम मन्दिर बनाउन दिएको निर्देशनप्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।

आइतबार प्रधानमन्त्री ओलीले माडीका जनप्रतिनिधिलाई बोलाएर भगवान रामको जन्मभूमि माडीको अयोध्या नै भएको दाबी गर्दै विशाल राम मन्दिर बनाउन निर्देशन दिएका हुन् । यस निर्देशनप्रति कांग्रेस प्रवक्ता शर्माले चेपाङको घर जलाएर राममन्दिर बनाउने निर्देशन कस्तो आध्यात्मिक अवतार हो भन्दै प्रश्‍न गरेका छन् ।

उनले ट्विटमा भनेका छन्, “भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने ! द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार ? यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ? कार्ल माक्र्सको आत्मालाई शान्ति मिल्ला कि ‘मिशन लिम्पियाधुरा’ लाई बल पुग्ला @PM_Nepal,” प्रवक्त शर्माले लेखेका छन् ।

उनले माडी नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ९ का अध्यक्ष शिवहरि सुवेदीलाई गत शुक्रबार टेलिफोन गरेर काठमाडौं आउन निर्देशन दिएका थिए । उनी शनिबार काठमाडौं आएर प्रधानमन्त्रीलाई भेट गरेका छन् ।

भेटमा प्रधानमन्त्री ओलीले आगामी रामनवमीमा भव्य मेला लगाउने र राम मन्दिर बनाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले यसअघि असार २९ गते राम नेपालमा जन्मेको दाबी प्रस्तुत गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले भारतको अयोध्यामा अगस्त ५ मा राम मन्दिरको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया