Pura Samachar

एमसीसी कार्यसूचीमा नपरेपछि प्रधानमन्त्रीले रोके संसद बैठक

प्रकाशित: February 9, 2022
पूरा समाचार

एमसीसी कार्यसूचीमा नपरेपछि प्रधानमन्त्रीले रोके संसद बैठक

काठमाडौं । एमसीसीमा दलहरुबीच सहमति नजुट्दा संसद बैठक अनिश्चित बन्दै आएको छ ।

एमसीसी कार्यसूचीमै नपरेपछि बुधवार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको बुधवारको कार्यसूचीमा एमसीसी परेको थिएन । अब बस्ने संसद बैठकमा एमसीसी टेबुल गर्नुपर्ने सरकारलाई दबाब छ ।

बुधवारको बैठक स्थगित गर्न सरकार आफैंले आग्रह गरेको संसद सचिवालयले जनाएको छ । सरकारले प्रतिनिधिसभा बैठकको मिति सार्न आग्रह गरेसँगै बैठक स्थगित गरिएको संसद सचिवालयले सूचना टाँसेर जानकारी गराएको छ । सूचनामा बैठक ६ दिनका लागि सारिएको उल्लेख छ । अर्को बैठक फागुन २ गते मात्र बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर बुधवार दिउँसोका लागि बोलाइएको बैठक सार्न आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले एमसीसीबारे सहमति जुटाउन केही समय लिन खोजेको स्रोतको भनाई छ । फागुन १६ भित्र एमसीसी संसदबाट पारित गरिसक्न सरकारलाई एमसीसी मुख्यालयको डेटलाइन छ ।

तर एमसीसीबारे गठबन्धनभित्रैका दलहरु विभाजित अवस्थामा छन् । प्रधानमन्त्रीसँगै संयुक्त प्रतिवद्दता पठाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि पार्टीभित्रै आलोचनामा परेपछि निर्वाचनपछि मात्र एमसीसीबारे निर्णय गर्ने भन्दै पन्छिनु भएको छ । एकीकृत समाजवादी र जनता समाजवादीले पनि यथास्थितिमा एमसीसी पारित गर्न नसकिने जनाएको छ । राष्ट्रिय जनमोर्चाले त गठबन्धन छोडेर एमसीसीको विरुद्ध साना दलहरुसँगै सडक आन्दोललन शुरु गरिसकेको छ ।

प्रतिक्रिया