Pura Samachar

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच खुमलटारमा भेट

प्रकाशित: February 10, 2022
पूरा समाचार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच खुमलटारमा भेट

सत्तारूढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच खुमलटारमा भेट भएको छ।

अध्यक्ष दाहाललाई भेट्न बिहीबार बिहान कोइराला दाहाल निवास खुमलटार पुगेका थिए।

कांग्रेस नेता अमरेशकुमार सिंहका अनुसार दाहाल र कोइरालाबीच अमेरिकी सहयोग परियोजना एमसिसी र स्थानीय तहको चुनावमा गठबन्धन बारे छलफल भएको थियो।

कोइरालाले कांग्रेस माओवादी वा अरू कुनै दलसँग गठबन्धनमा जान नसक्ने स्पष्ट पारिदिएको भेटमा सहभागी नेता सिंहले बताए।

‘स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर सहयोग गर्न प्रचण्डले भन्नुभयो, तर उहाँले गठबन्धन कुनै हालतमा नगर्ने आफ्नो स्पष्ट धारणा हो भन्नुभयो,’ सिंहले सेतोपाटीसँग भने।

माओवादीसँग गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा नै नरहेको भन्दै कोइरालाले गठबन्धन गर्न नसकिने बताएका थिए।

यस्तै, कोइरालाले एमसिसीको बारेमा राष्ट्रिय सहमति जुटाउन दाहाललाई आग्रह गरेको सिंहले बताए।

‘राष्ट्रिय सहमति जुटाई संसद खुलाउन पहल गर्नुस्, एमसिसीको बारेमा त्यहीँबाट निकास दिनुपर्छ,’ कोइरालाले भने।

कोइरालाले दुई दिनअघि एमाले अध्यक्ष केपी ओलीलाई उनको निवास बालकोटमै पुगेर भेट गरेका थिए।

प्रतिक्रिया