
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।
माओवादी केन्द्र केन्द्रीय कार्यालयका अनुसार माघ २८ र २९ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको हो।
माओवादी केन्द्रले २८ र २९ गतेको बैठकमा एमसिसीबारे थप छलफल गर्ने भनेको थियो। त्यसकै लागि माघ २६ गतेको प्रतिनिधि सभा बैठक समेत फागुन २ गतेसम्म स्थगित भएको छ।
दुई दिन बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारीको चयन गर्नेसमेत नेताहरूले बताएका थिए। बैठक स्थगित भएसँगै माओवादी केन्द्रको पदाधिकारी चयनसमेत अनिश्चित बनेको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर एमसिसी पास गर्ने प्रतिवद्धतासहित पठाएको पत्र सार्वजनिक भएपछि माओवादीभित्र तरंग आएको छ।
केही माओवादी नेताहरूले प्रचण्डले त्यसरी पत्र लेख्नु हुँदैनथियो भनिरहेका छन् भने प्रचण्डले कूटनीतिक पत्रलाई उछाल्न जरूरी नरहेको बताएका छन्।
प्रतिक्रिया