Pura Samachar

नेपालको फिफा वरियतामा दुई स्थान सुधार

प्रकाशित: February 10, 2022
पूरा समाचार

नेपालको फिफा वरियतामा दुई स्थान सुधार

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को वरियतामा नेपाल दुई स्थान माथि उक्लिएको छ। अघिल्लो महिना १६९औं स्थानमा रहेको नेपाल फेब्रुअरी महिनामा १६७औं स्थानमा आइपुगेको हो।

अफ्रिकी राष्ट्र मरिसससँग दुई अन्तर्राष्ट्रिय  खेल खेलेपछि नेपालको वरियतामा सुधार आएको हो। नेपाल दुवै खेलमा १-० गोलले विजयी भएको थियो।

नेपालसँग पराजित भएको मरिसस भने चार स्थान तल झर्दै १७६औं स्थानमा पुगेको छ।

नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) मध्येमा तेस्रो स्थानमा छ। साफको शीर्ष स्थानमा रहेको भारत फिफा वरियतामा १०४औं स्थानमा छ।  यस्तै माल्दिभ्स १५७औं स्थानमा छ।

साफमा नेपालभन्दा तल भुटान १८५औं, बंगलादेश १८६औं,  पाकिस्तान १९७औं  र श्रीलंका २०४औं स्थानमा छन्।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ। ब्राजिल दोस्रो, फ्रान्स तेस्रो, अर्जेन्टिना चौथो र इंग्ल्यान्ड पाँचौ स्थानमा छन्।

अफ्रिका कप अफ नेसन्स जितेको सेनेगल १८औं स्थानमा आइपुगेको छ। सेनेगल अफ्रिकाको वरियतामा भने शीर्ष स्थानमा पुगेको छ।

प्रतिक्रिया