Pura Samachar

आर्मी र जावलाखेल युथ क्लब विच खेल१–१ गोलको बराबरी

प्रकाशित: February 11, 2022
पूरा समाचार

आर्मी र जावलाखेल युथ क्लब विच खेल१–१ गोलको बराबरी

इन्ज्युरी समयमा सुमन अर्यालले गोल गरेपछि शीर्ष चारको दौडमा रहेको विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबसँगको हारबाट जोगिएको छ । आर्मीले जावलाखेल युथ क्लबसँग १–१ गोलको बराबरी खेलेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको अन्तिम समयमा सम्हालिन नसक्दा जावलाखेलले अंक बाड्न बाध्य बन्यो । जावलाखेलका ओनगुना निकेंगे जुनियरले एक गोल गरे ।

त्यसअघि खेलको दोस्रो मिनेटमा सन्तोष तामाङको कर्नरमा डिफेन्डर र गोलरक्षकबीच तालमेल नमिल्दा आएको बलमा जर्जप्रिन्स कार्कीको प्रहार सिमन्त थापालाई लाग्दै फर्कदा गोलरक्षक टिकेन्द्र सिंह थापाले नियन्त्रणमा लिन सफल भए । २४औं मिनेटमा ओनगुना निकेंगे जुनियरकले एकल प्रयासमा गरेको प्रहारलाई गोलरक्षक विकेश कुथुले दोस्रोबारतर्फ डाइभ दिदै पञ्च गर्दा जावलाखेल अग्रता लिनबाट चुक्यो ।

२९औं मिनेटमा सुमन अर्याल र विकास तामाङबीच समन्वय नमिल्दा ओनगुनाले बल भेट्दै गरेको प्रहारलाई विकेशले नै उत्कृष्ट बचाउ गरे । त्यसमै निकोलस फर्नान्डेसको कर्नरमा सिमन्त थापाको हेड सदुपयोग हुन सकेन । ३१औं मिनेटमा कप्तान भत खवासको प्रहारलाई गोलरक्षक टिकेन्द्रले सहजै नियन्त्रणमा लिए ।

५३औं मिनेटमा अ‍ोनगुना जुनियरले गोल गर्दै जावलाखेललाई १–० को अग्रता दिलाए । रुप बहादुर लामाको ब्याकहिल पासलाई नियन्त्रणमा लिदै तीन डिफेन्डरबीचबाट ओनगुनाले गरेको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो ।

गोलरक्षक टिकेन्द्रले गल्ती गर्दा इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सन्तोष तामाङको फ्रिकिकलाई गोलरक्षक टिकेन्द्रले पञ्च गर्दै बचाउँदा आर्मी बराबरीबाट चुक्यो । रिवाउन्डमा राजीव गुरुङको प्रहार आकासियो । इन्ज्युरी समयमको थप गरिएको छैटौ मिनेटमा सुमन अर्यालले गोल गर्दै आर्मीलाई हारबाट जोगाए । जगजित श्रेष्ठको क्रसमा राजीव गुरुङले प्रयास गरेपनि अनमार्क रहेका सुमनले फाइनल टच दिएका थिए ।

यो बराबरीसँगै अपराजित रहेको आर्मी १० खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । आर्मीले चार जित र ६ बराबरीको नतिजा निकालेको छ । यो बराबरीले जावलाखेल १० खेलबाट ९ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

प्रतिक्रिया