Pura Samachar

हामीले कल्पना गरेको मुलुक कहिले बन्छ ?

प्रकाशित: February 12, 2022
पूरा समाचार

हामीले कल्पना गरेको मुलुक कहिले बन्छ ?

डा.डि.आर.उपाध्याय

आज मुलुक समस्या नै समस्याले घेरिएको अबस्था छ । राजनीतिक दल र तिनका नेताहरुलाई कुनै चासो नै नभएको देखिन्छ । यदि उनीहरुलाई मुलुकको भाग्य र भविश्यको चिन्ता र चासो हुन्थ्यो भने आज यो देश यस्तो अबस्थामा रहने थिएन । मुलुकको अर्थतन्त्र ओरालोतिर लागेको छ। देशको अर्थतन्त्र नै थला परेको अबस्था छ । यस्तो अवस्थामा पनि अनियमितता हुन छोडेको छैन। सबैले आलो पालो देश लुट्ने मात्र काम गरिरहेका छन । भ्रष्टाचारले सिमा नाघेको छ । जनता मुखदर्शक भएर बसेका छन । जनताले संघर्ष गरेर बलिदान गरेर ल्याएको ब्यवस्था माथि नेताहरुको मनपरी चलेको छ । हिजो राम्रो संग जुत्ता चप्पल लगाउन नसक्ने नेताहरु घर जोडेर छतमा बसेर घाम ताप्दै हाइ गरिरहेका छन । के यसैका लागि राजनीतिक परिवर्तन भएको हो ? आज जनताको मतको कदर हुन छाडेको छ। सबै पदका लागि लडाइँ गरेका छन्। नेताहरुलाई आफू र आफ्नो परिवार बाहेक अरु हेर्ने फुर्सद नै छैन । आफन्त, नातागोता र आफ्ना वरपर मात्र हेर्ने त्यसबाहेक नेताहरुले अरु के गरे ? हामीले कल्पना गरेको मुलुक कहिले बन्छ ? लोकतन्त्रको नाममा नेता मात्र मोटाउने काम भयो । यसरी देशको भबिश्य बन्दैन । अब हामी सबैले गम्भिर भएर सोच्ने बेला भयो । मुलुकको अवस्था बर्बाद हुदै छ । विश्वव्यापी महामारीको असरमा जनता छन । जनतामा त्यो त्रास अझै हटेको छैन । राजनीतिज्ञहरू सधैं सरकार र सत्ताको मोहमा लिप्त भएर बसेका छन । देश बनाउने सोच नेतामा देखिएन । अब यही गतिमा मुलुक रहिरहने हो भने कहिले बन्छ ? अब जनताले दलहरुलाई विश्वास नगर्ने दिन आउन सक्छ । किनभने दलहरुले जनताको मत माथि अपमान गरिरहेका छन । यसरी मुलुक समस्यै समस्याले कति दिन चल्छ ? अब मुलुकमा दुरदर्शी नेताको खाँचो छ । यति बेला सबै जनताले भरोसा गर्न सक्ने राजनेताको खोजी भइरहेको छ । देशको यो अबस्था देखेर जनताको ठूलो जमातमा नैराश्यता छाएको छ। आज देशमा राजनीतिक अन्योलको अवस्था छ । राजनीतिक दलहरुले चाँडो भन्दा चाँडो विचारको राजनीति सुरु गर्नु पर्छ। सबैलाई समेट्ने मुलुकलाई अग्रगमनतिर लैजाने बाटोमा सबै राजनीतिक दलहरु हिँड्नु पर्छ । आजका आमसमस्या सबै दलहरु मिलेर समाधान गर्नु पर्छ । मुलुकलाई निकास दिन दलहरु मिल्नु पर्छ । नेकपा एमालेका कुरा पनि सत्ता गठबन्धनले सुन्नु पर्छ । राजनीतिलाई भाँडभैलोमा लैजान दिनु हुदैन । राजनीतिक खिचातानी, सत्ता र शक्तिको लुछाचुडीले गर्दा जनताले दुःख पाइरहेका छन । मुलुकलाई अस्तव्यस्त अवस्थाबाट बचाउनु पर्छ ।

प्रतिक्रिया