Pura Samachar

भारतले वेस्टइन्डिजसँग तीन ओडिआई खेलको सिरिज क्लिनस्विप

प्रकाशित: February 12, 2022
पूरा समाचार

भारतले वेस्टइन्डिजसँग तीन ओडिआई खेलको सिरिज क्लिनस्विप

एजेन्सी – भारतले वेस्टइन्डिजसँग तीन ओडिआई खेलको सिरिज क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम ओडिआई खेलमा भारतले वेस्टइन्डिजलाई ९६ रनले हराउँदै क्लिनस्विप गरेको हो ।

२ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ३७.१ ओभरमा १ सय ६९ रनमा अल आउट भयो । वेस्टइन्डिजका ओडेन स्मिथले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३६ रन बनाए । कप्तान निकोलस पुरनले ३९ बलमा २ चौका र १ छक्कासहित ३४ रनमा आउट भए । ओपनर शाई होप ५, ब्रेन्डन किंग १४, ड्यारेन ब्राभो १९, जेसन होल्डर ६, अल्जारी जोशेफ २९ र हेडेन वाल्श जुनियरले १३ रन बनाए ।

भारतका प्रसिद्ध कृष्ण र मोहम्मद शिराजले ३–३ विकेट लिए । दीपक चाहर र कुलदीप यादवको नाममा २ विकेट रह्यो । त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर ब्याटिङ रोजेको भारत ५० ओभरमा २ सय ६५ रनमा अल आउट भयो । भारतका युवा ब्याटर श्रेयस ऐरले १ सय ११ बलमा ९ चौकासहित सर्वाधिक ८० रन बनाए ।

विकेटकिपर ऋषभ पन्तले ५४ बलमा ६ चौका र १ छक्कासहित ५६ रन बनाए । खराब सुरुवात गरेको भारतलाई चौथो विकेटका लागि पन्त र ऐरले १ सय १० रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए ।

तल्लोक्रमका दीपक चाहरले ३८ बलमा ४ चौका र २ छक्कासहित ३८ रनको योगदान दिए । वासिन्टन सुन्दर ३३, रोहित शर्मा १३, शिखर धवन १, सूर्य कुमार यादव ६ र विराट कोहली शून्यमा आउट भए ।

वेस्टइन्डिजका जेसन होल्डरले ८ ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ४ विकेटलिए । अल्जारी जोशेफ र हेजेन वाल्श जुनियरले २–२ विकेट लिए । ओडेन स्मिथ र फबिएन एलनले १–१ विकेट लिए ।

भारत पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो । खेलको प्लेयर अफ द म्याच श्रेयस ऐर र प्लेयर अफ द सिरिज प्रसिद्ध कृष्ण चुनिए । भारत र वेस्टइन्डिजबीच थप तीन टि२० आई खेलको सिरिज हुनेछ । पहिलो खेल १६ फेब्रुअरीमा इडेन गार्डेन कोलकतामा सुरुहुनेछ ।

प्रतिक्रिया