Pura Samachar

उपत्यकाका सबै नाका तत्काल सिल नगरे कोरोना नियन्त्रणबाहिर जाने चेतावनी

प्रकाशित: August 10, 2020

उपत्यकाका सबै नाका तत्काल सिल नगरे कोरोना नियन्त्रणबाहिर जाने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई सिल नगरेसम्म उपत्यका भित्र संक्रमण नियन्त्रणमा नआउने बताएका छन् ।

उपत्यकामा समुदायस्तरमा संक्रमण अझैपनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाकामा सिल गर्नुपर्ने मेयर शक्यले बताएका छन् । शाक्यले उपत्यकामा समुदायमा भन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाकामा सिल गर्नुपर्ने बताएका हुन् ।

उनले अहिले नै सिल नगर्ने हो भने संक्रमण नियन्त्रणभन्दा बाहिर जान सक्ने बताए ।

उनले भने, “उपत्यकामा संक्रमण फैलियो भने रोक्न धेरै गाह्रो हुन सक्छ । किनकी यहाँ घना बस्ती छ । एउटै घरमा धेरै व्यक्तिहरु बस्छन् । घरधनी एकजना छ भने त्यही घरमा बहालमा बस्नेहरु धेरैजना छन् । एउटै कोठामा धेरै व्यक्ति बसेका छन् । यहाँ बिजनेस कम्प्लेक्सहरु धेरै छन् । यहाँ बजार धेरै छ । बजारमा आवतजावत गर्दा एकव्यक्ति र अर्को व्यक्ति ठोकिने सम्भावना धेरै छ । त्यसकारण त्यो बेला नै हामीले भनेका थियौं उपत्यका सिल गरौं । उपत्यकालाई कडा गरौं । उपत्यका भित्र रहेका ४० लाख व्यक्तिमा खुकुलो गरौं तर केही व्यक्तिलाई काठमाडौं भित्र छिराउँदा काठमाडौं एउटा शान्त तलाउ भनेका थियौं, शान्त पोखरीमा ढुंगा हानेजस्तो हुन्छ ।”

उनले सरकाले लकडाउन खोलेपनि लामो दूरीका सवारीसाधन चलाउन नदिएकाले यसलाई एक किसिमको लकडाउन नै मानेर आवतजावत बन्द गर्नुपर्ने बताएका छन् ।

एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध गर्नु भनेको संक्रमण फैलन नदिनु भएकाले त्यसमा ध्यान दिन उनले आग्रह गरे । उपत्यकामा अहिले पनि समुदायस्तरमा धेरै संक्रमण नदेखिएकाले यसलाई अहिले नै नियन्त्रण गर्नुपर्नेमा शाक्यले जोड दिए ।

उनले भने,” लकडाउन खोलेको छ । तर सरकारले अहिलेपनि लमो दूरीका सवारीसाधन चलाउन सहमति दिएको छैन् । नदिनु भनेको अहिलेपनि लकडाउन नै हो । लकडाउनको स्वरुप फेरिएको हो । एउटा जिल्लाबाट अर्को जिल्लामा निषेध गरिएको छ । त्यसकारण अहिले काठमाडौंमा जतिपनि भेटिएका छन् । यहाँ अहिलेपनि समुदायस्तरसम्म धेरै पुगेको छैन । केही स्थानीय व्यक्तिमा भेटियो तर अहिलेपनि विभिन्‍न पेसा-व्यवसायका लागि काठमाडौं बाहिरबाट आएकोमा देखिएको छ । त्यसकारण अहिलेपनि हामीले नियन्त्रण गर्नुपर्छ । यसलाई वास्ता नगर्ने, हेलचेक्रयाई गर्ने हो भने रोक्न गाह्रो हुन्छ ।”

मेयर शाक्यले महानगरपालिकाले भनेको निर्णय नागरिकले नमानेर लुकिछिपि आउने प्रवृतिले संक्रमणको अहिलेको स्थिति देखा परेको बताए ।

उनले भने, “हामीले भनेको निर्णय मानिदिएको भए काठमाडौं उपत्यकामा कुनैपनि संक्रमण देखिनेवाला थिएन् । हाम्रो कुरा सरकारले मानिदियो हामीले सरकारसँग अनुरोध गरेका थियौं । नाकामा कडाई गर्न भन्यौं गृह मन्त्रालयले त्यही अनुसार परिपत्र जारी गरेको छ । तर यहा लुकिछिपि आउने प्रवृति रहयो ।”

प्रतिक्रिया