Pura Samachar

मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लब बराबरी अंक बाडे

प्रकाशित: February 12, 2022
पूरा समाचार

मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लब बराबरी अंक बाडे

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङ र थ्री स्टारले १-१ गोलको बराबरी खेलेको हो ।

खेलमा सुरुआती अग्रता भने मनाङले बनाएको थियो ।

खेलको ६२ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान पसेका दयानन्द सिंहले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । कप्तान अन्जन विष्टको क्रसमा पुजन उपरकोटीको स्थानमा मैदान पसेका दयानन्दले हेडर मार्फत गोल गरे ।

तर, खेलको ७१ औं मिनेटमा ऋतिक खड्काले गोल गर्दै थ्री स्टारलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । घानिफोको पासमा उनले बक्स बाहिरबाट प्रहार गरेको बल पोस्टमा लाग्दै जाली चुमेको थियो  ।

त्यसबाहेक दुबै टोलीले गोलको अन्य अवसर गुमाएका थिए ।

खेलको दोस्रो मिनेटमा मनाङका कप्तान अन्जन विष्टको फ्रि-किक थ्री स्टारका गोलकिपर प्रिसोले बचाए ।

सातौं मिनेटमा मनाङका रुपेश केसीको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलको १६ औं मिनेटमा थ्री स्टारका घानिफा क्रोमाको प्रहार बाहिरिएको थियो।

खेलको ४१ औं मिनेटमा मनाङका आफिज ओलावालेले गोलको सुनौलो अवसर गुमाए । पुजन उपरकोटीको पासमा थ्री स्टारका गोलकिपर प्रिसोसँग वान भर्सेस वानको अवस्थामा उनले बाहिर प्रहार गरे  ।

४८ औं मिनेटमा मनाङका आफिज पुन: गोल गर्न असफल भए । विमल रानाको पासमा उनको वान टच प्रहार आकाशिएको थियो ।

खेलको ७८ औं मिनेटमा दयानन्दको हेडर बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

यस बराबरीसँगै मनाङले १० खेलमा २० अंक जोडेको छ ।  मनाङ लिगको दोस्रो स्थानमा रहेको छ ।

थ्री स्टार १० खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया