Pura Samachar

कुर्था–जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालन हुने

प्रकाशित: February 13, 2022
पूरा समाचार

कुर्था–जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालन हुने

जनकपुरधाम । लामो समयदेखि सञ्चालनको पर्खाईमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालन हुने भएको छ ।

रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि सफल हुन सकेको थिए । तर, आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनको हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो ।

रेल्वे सेवा नियमित सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले रेल ट्रक नजिक रहेका हाट बजारहरू समेत खालि गराई सकेको छ । आइतबारदेखि नियमित रूपमा दैनिक एक पटक कुर्था–जयनगर सम्म रेल ओहोरदोहोर गरिने महाप्रबन्धक झाले बताउनुभयो ।

आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन भए पनि तत्काल भने बिना यात्रुको ल सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । हप्ता १० दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीन पटक सेवा सञ्चालन गर्ने तयारी भएको महाप्रबन्धक झाको भनाइ छ ।

उहाँका अनुसार रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता भएको छ । बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिई तयार गरिसकेको महाप्रबन्धक झाले बताउनुभयो ।

प्रतिक्रिया