
एजेन्सी – अष्ट्रेलियाले दोस्रो टि२० आई खेलमा श्रीलंकालाई सुपर ओभरमा हराएको छ । योसँगै घरेलु टोली अष्ट्रेलियाले पाँच टि२० आई सिरिजमा २–० को अग्रता लिएको छ ।
सुपर ओभरमा जोश हेजलवुडले उत्कृष्ट बलिङका साथ श्रीलंकालाई ५ रन रोकेपछि अष्ट्रेलियालाई जितको लागि ६ रन आवश्यक थियो । अष्ट्रेलिया ब्याटिङमा ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिस आएका थिए । स्पिनर वानिन्दु हसरंगाले पहिलो बल म्याक्सवेललाई एक रन दिए । दोस्रो र तेस्रो बलमा स्टोइनिसले लगातार चौका प्रहार गर्दै जित पक्का गराए ।
सुपर ओभरमा श्रीलंकाका दासुन शनका र दीनेश चान्डिमल आएका थिए । शनकालाई जोश हेजलवुडले पहिलो र दोस्रो बल योर्करका साथ डट राखे । तेस्रो बलमा लेग वाईको रुपमा दुई रन बटुल्ने क्रममा चान्डिमल रन आउट भए । चौथो बलमा एक रन बटुले । पाँचौं बलमा पाथुम निसंकाले दुई रन बटुले । अन्तिम बलमा एक रन बटुलेका थिए ।
त्यसअघि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । श्रीलंकालाई जितको लागि अन्तिम ६ बलमा १९ रन जितको लागि आवश्यक थियो । अन्तिम बलमा चौकाका साथ खेल टाई गराएको थियो । पहिलो बल मार्कस स्टोइनिसले वाइड फ्याल्दा अर्को बलमा पाथुम निसंकाले मिड अफमा चौका प्रहार गरे ।
दोस्रो बलमा दुई रन बटुल्दा तेस्रो बलमा डिप स्क्यायर लेगमा कमिन्सबाट क्याच आउट हुन पुगे । त्यसपछि क्रिजमा आएका महेश थक्सेनाले छक्का प्रहार गरेपछि खेल रोमान्चक बनेको थियो । पाँचौं बलमा लेग वाईको रुपमा एक रन बटुले । अन्तिम बलमा जितको लागि ५ रन चाहिँएको अवस्थामा दुश्मन्था चमिराले चौका प्रहार गर्दै खेल टाई गराए ।
श्रीलंका ओपनर पाथुम निसंकाले ५३ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७३ रनको इनिङ खेले । कप्तान दासुन शनकाले १९ बलमा २ चौका र ३ छक्कासहित महत्वपूर्ण ३४ रनको इनिङ खेले । वानिन्दु हसरंगा १३, दीनेश चान्डिमल १९ रनमा आउट हुँदा दुश्मन्था चामिरा ४ र महेश थेक्सना ६ रनमा अविजित रहे । अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुडले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । प्याट कमिन्स, मार्कस स्टोइनिस, केन रिचर्ड्सन र एडम जाम्पाले १–१ विकेट लिए ।
त्यसअघि सिड्नीमा टस हारेर ब्याटिङ थालेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । अष्ट्रेलिया जोश इंग्लिसले ३२ बलमा ५ चौकासहित सर्वाधिक ४८ रन बनाए । आरोन फिन्च २५, बेन म्याकडेर्मोटले १८, ग्लेन म्याक्सवेल १५, स्टिभ स्मिथ १४, मार्कस स्टोइनिसले १९ र म्याथ्यु वेडले १३ रन बनाए ।
श्रीलंकाका दुश्मन्था चामिरा र वानिन्दु हसरंगाले २–२ विकेट लिए । महेश थेक्सना र नुवान थुसराले १–१ विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया २० रनले विजयी भएको थियो । तेस्रो टि२० आई खेल १५ फेब्रुअरीमा हुनेछ ।
प्रतिक्रिया