Pura Samachar

नेपाल एपिएफ फुटबल क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडे

प्रकाशित: February 13, 2022
पूरा समाचार

नेपाल एपिएफ फुटबल क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडे

कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत विभागीय नेपाल एपिएफ फुटबल क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । खेल गोलरहित बराबरीमा सकिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् । खेलको ११औं मिनेटमा फोडे फोफानाको प्रहारलाई एपिएफका जापानी गोलरक्षक युया कुरियामाले डाइभ दिदै बचाए । १६औं मिनेटमा लक्ष्मण रुचालको कर्नरलाई प्रदिप लामाले क्लियर गरेको बललाई अमित तामाङले गरेको प्रहार आकासियो ।

३४औं मिनेटमा कप्तान नविन लामाको कर्नरमा अर्मान्ड विनोङको फ्रि हेडर पोस्टबाट आकासिदा एपिएफ अग्रता लिनबाट चुक्यो । ६०औं मिनेटमा रोमन लिम्बुको फ्रिकिकलाई निरज बस्नेतले हेडर प्रयास गरेपनि भेट्न सकेन । ६७औं मिनेटमा ग्लोरीको क्रसमा उत्तम राईको हेडरलाई गोलरक्षक युया कुरियामाले डाइभ दिदै बचाउँदा संकटा अग्रता लिनबाट चुक्यो ।

७४औं मिनेटमा आवास लामिछानेले निरज बस्नेतबाट बल खोस्दै वान भर्सेस वानको अवस्थामा गरेकोलाई संकटाका गोलरक्षक राजा बाबु थापाले बचाउँदा एपिएफ अग्रता लिनबाट चुक्यो । ८०औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा कप्तान रवि सिलवालको हेडर पासमा फोडे फोफानाको प्रहार गोलरक्षक युयाकै हातमा पुग्यो ।

बराबरीसँगै संकटा १० खेलबाट १५ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । समान १५ अंक नै भएपनि सातदोबाटो गोलअन्तरमा छैटौं स्थानमा झरेको छ । एपिएफ ११ अंक जोडेर नवौं स्थानमा यथावत रहेको छ ।

यो बराबरीसँगै एपिएफ पछिल्लो ७ खेलमा अपराजित रहन सफल भयो । थ्री स्टारसँगको चौथो खेलबाट लिगमा पहिलो अंक जोडेको एपिएफ त्यसयता अपराजित छ । संकटाको भने नवौं चरणमा आएर अपराजित यात्रामा पूर्णविराम लागेको थियो । संकटा नवौं चरणमा थ्री स्टारसँग १–० ले पराजित भएको थियो ।

प्रतिक्रिया