काभ्रे । पछिल्लो समयमा काभ्रेपलाञ्चोक जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले भीड कम गर्न मंगलबारदेखि हुने सेवा प्रवाहमा नगरपालिकाहरुलाई बारअनुसार मात्रै सेवा प्रदान गर्ने भएको छ ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालय काभ्रेपलाञ्चोकमा हुने गरेको सेवाग्राहीको भीडलाई कम गर्न जिल्लाका ६ वटा नगरपालिकालाई बारअनुसार मात्रै सेवा प्रदान गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार धुलिखेल, पाँचखाल र पनौती नगरपालिकालाई आइतबार, सोमबार र बिहीबार तथा बनेपा, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकालाई सोमबार, बुधबार र शुक्रबार मात्रै सेवा प्रवाह हुनेछ ।
बाँकी सात वटा गाउँपालिकालाई भने हरेक दिन सेवा उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए । कोभिड–१९ को सङ्क्रमण तीव्ररुपमा बढिरहेको अवस्थामा सेवाग्राहीको भीड बढ्दै गइरहेको अवस्थामा मङ्गलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि त्यसरी समय मिलाएको जनाएको छ ।
प्रतिक्रिया