
नेकपा एकीकृत समाजवादी पार्टीविरूद्ध परेका तीनवटै रिटको सुनुवाइ स्थगित भएको छ।
लुम्बिनी प्रदेशका मुख्यन्यायाधीवक्ता श्रीकृष्ण सुवेदीले निवेदन दिएकाले सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ।
पार्टी विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गर्ने गरी भएको निर्णय खारेज गर्नुपर्ने, आफूले कारबाही गरेका १४ सांसद निष्कासन गर्नुपर्नेमा माधव नेपालको पार्टीमा समावेश गरिदिएको र लुम्बिनी प्रदेशका २ सांसदलाई कारबाही गरिएकोमा प्रदेश सभामुखले नगरेको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले छुट्टाछुट्टै तीनवटा रिट दिएका थिए।
यी सबै रिट एकैसाथ राखेर सुनुवाइ गर्न यसअघि अदालतले आदेश गरेको थियो। यी रिट आइतबार न्यायधीशहरू ईश्वर खतिवडा र कुमार रेग्मीको इजलाशमा परेका थिए।
ती रिट मध्ये लुम्बिनी प्रदेशमा कारबाहीमा परेका सासंदको रिट स्थगित गर्न त्यहाँका मुख्यन्यायाधीवक्ता सुवेदीले निवेदन दिएका थिए।
आफूले दुई जना सासंद सम्बन्धी मुद्दामात्रै स्थगित गर्न निवेदन दिएको उनले जानकारी दिए।
‘म अस्वस्थ थिएँ। कोरोना संक्रमणको डरले मलाई त्यहाँ गएर बहस गर्न गाह्रो भयो त्यसैले दुई जना सासंदको हकमा मात्रै स्थगित गर्न निवेदन दिएको हुँ,’ उनले भने, ‘एकै साथ राखेर हेरिएका अरू मुद्दा पनि स्थगित हुन्छन् भन्ने मलाई थाहा थिएन।’
प्रतिक्रिया