
काठमाडाैं । जनकपुर–जयनगर रेल सेवाको उद्घाटन नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा भर्चुअल माध्यमबाट गर्ने तयारी भइरहेको छ ।
रेल नियमित सञ्चालनका आएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा भर्चुअल विधिबाट उद्घाटन गर्ने गरी दुई देशका कुटनीतिज्ञबीच छलफल भइरहेको महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो।
प्राविधिक परीक्षणको रुपमा आइतबारबाट कुर्था–जनकपुर–जयनयरसम्म रेल सेवा सञ्चालन शुरु भएको छ। एक–दुई दिनभित्र उद्घाटनको मिति तय हुने पनि महाप्रबन्धक झाले जानकारी दिनुभयो ।
रेल उद्घाटन नहुञ्जेल दिनको एकपटक आउने–जाने र त्यसपछि यात्रुको चाप तथा आवश्यकता हेरेर दिनमा २–३ पटकसम्म पनि रेल सञ्चालन गर्न सकिने तयारी रहेको बताउनुभयो ।
भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा रेल सञ्चालनका लागि २०७७ असोज २ गते भारतीय कम्पनी कर्पोरेशनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट डेमो ट्रेन खरिद गरी ल्याइएको थियो ।
प्रतिक्रिया