Pura Samachar

सिटीको पोर्चुगिज क्लब स्पोर्टिङ सिपीमाथि फराकिलो जीत

प्रकाशित: February 16, 2022
पूरा समाचार

सिटीको पोर्चुगिज क्लब स्पोर्टिङ सिपीमाथि फराकिलो जीत

सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीमाथि उसकै मैदानमा ५–० को सानदार अवे जित निकालेको हो । लिसवोआमा मंगलबार राति भएको खेलमा सिटीको फराकिलो जितमा पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भाले दुई तथा रियाद महारेज, फिल फोडेन र रहिम स्टर्लिङले समान एक गोल गरे ।

गोलको वर्षा भएको खेलमा सिटीले पहिलो हाफमा चार तथा दोस्रो हाफमा एक गोल थप्दै टोलीको जित पक्का गरेको थियो । खेलको सुरुवातदेखि नै आक्रमक खेल पस्को सिटीले सातौ मिनेटमा रियाद महारेजको गोलबाट अग्रता लिएको थियो ।

फिल फोडेनको प्रहारलाई स्पोर्टिङका गोलरक्षक एन्टेनियो एडानले बचाएपनि नियन्त्रणमा लिन नसकेको बलाई केभिन डि ब्रुएनले दिएको पासमा रियादले खाली पोस्टमा गोल गर्न सफल भएका थिए । १७औं मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । क्रसबाट आएको बललाई क्लियर गर्न नसकेछि पेनाल्टी बक्सभित्रको उनको सशक्त भली प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो ।

३२औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–० ले अघि बढाए । रियाद महारेजको क्रसलाई दुई डिफेन्डरले क्लियर गर्न नसकेको बललाई फोडेनले सहजै फिनिस गरे । ४४औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि सिटीले पहिलो हाफमै ४–० को आरादायी अग्रता लिन सफल भयो । रहिम स्टर्लिङको पासमा उनको प्रहार गोन्कालो इनासियोलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत हुदा गोलरक्षक एडानले बचाउने मौका नै पाएन ।

५०औं मिनेटमा बर्नाडो सिल्भाले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन । उनी गोलको मुभमा अफसाइड देखिएको थियो । ५८औं मिनेटमा रहिम स्टर्लिङको गोल गर्दै सिटीलाई ५–० ले अघि बढाए । उनले सिल्भाको पासमा पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार टप कर्नरबाट गोलमा परिणत हुँदा गोरक्षक एडानले कुनै मौका पाएन ।

त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो । प्रिमियर लिगको शीर्षस्थानमा रहेको सिटीविरुद्ध स्पोर्टिङले कुनै पनि समय खुलेर खेल्न सकेन ।

यो सानदार अवे जितसँगै सिटीले क्वाटरफाइन्ल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेग सिटीको मैदानमा ९ मार्चमा हुनेछ । उक्त खेलमा स्पोर्टिङलाई अघिल्लो चरण प्रवेश गर्न कम्तीमा पनि ५–० कै जित निकाल्नुपर्ने हुन्छ । सिटीलाई भने बराबरी या ४–० को हारले पनि अघिल्लो चरण पुग्न पर्याप्त हुनेछ ।

प्रतिक्रिया