Pura Samachar

हवाई उडान र लामो दुरीका सवारी भदौं १५ गतेसम्म नखुल्ने

प्रकाशित: August 11, 2020

हवाई उडान र लामो दुरीका सवारी भदौं १५ गतेसम्म नखुल्ने

काठमाडौं । सरकारले हवाई उडान र लामो सेवाका यातायात तत्काल नखोल्ने निर्णय गरेको छ । देशभरी नै कोरोना संक्रमण फैलिदो रुपमा देखिएकाले भदौ १ गतेबाट खोल्ने भनिएका सबै सेवा तत्काल नखोल्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अवेरसम्म बसेको मन्त्रिपरिषद्को बैठकले अवस्था सुधारउन्मुख भए भदौ १५ गतेबाट खोल्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा सरकारले भदौ १ गतेदेखि सुरु गर्ने भनेको सार्वजनिक यातायात, शैक्षिक संस्था तथा अन्तर्राष्ट्रिय र आन्तरिक उडान पछि सार्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रीपरिषद्ले उपत्यका प्रवेश गर्ने नाकामा पनि थप कडाई गर्न गृहमन्त्रालय र सम्बन्धित सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ । उपत्यकाको नाकासहित अन्तराष्ट्रिय नाकामा थप कडाई गर्ने भएको छ । भारतका विभिन्न २० सीमा खोलेको नेपालले त्यसलाई घटाएर १० वटा नाकामा झारेको छ । त्यहाबाट पनि दैनिक ५ सय जनालाई मात्र प्रवेश गराईने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् ।

भदौ एक गते देखि सञ्चालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि रोक लगाउने निर्णय भएको छ । जिल्ला भित्र संचालनमा रहेका यातायातलाई भने सूचारु राख्दै तत्कालका लागि सुरक्षा मापदण्ड कडाईका साथ लागु गराउने मात्र भएको छ ।

कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको भन्दै सरकारले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

प्रतिक्रिया