Pura Samachar

त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब बराबरीमा

प्रकाशित: February 16, 2022
पूरा समाचार

त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब बराबरीमा

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ।

बुधबार भएको खेलमा १० खेलाडीमा समेटिएको आर्मीले हिमालयन शेर्पा क्लबसँग १-१ गोलको बराबरी खेलेको हो ।

एन्फा कम्प्लेक्समा सुरुआती अग्रता जोगाउन नसक्दा आर्मी बराबरीमा रोकिएको हो ।

खेलको २६ औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । टेक बहादुर बुढाथोकीको पासा उनले सहजै गोल गरे ।

तर, खेलको ६५ औं मिनेटमा मुताम्बा पिस्टोनले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याए । उनले आशिष गुरुङको पासमा मध्ये भागबाट अघि बढाउदै एकल प्रयासमा गोल गरेका हुन् ।

यस्तै खेलको इन्जुरी समयमा गोलकिपर विकेश कुथुले रातो कार्ड पाएपछि आर्मी १० खेलाडीमा समेटिएको थियो ।

हिमालयनका सुरेश कुमाललाई पेनाल्टी क्षेत्र बाहिर आएर फउल गरेपछि विकेशले रातो कार्ड पाएका हुन् ।

यस बराबरीसँगै आर्मीले ११ खेलमा १९ अंक जोडेको छ । आर्मी लिगको तेस्रो स्थानमा रहेको छ ।

हिमालयनले ११ खेलमा १२ अंक जोडेको छ । हिमालयन आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया