
डा. डि.आर उपाध्याय
देशमा ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । ब्यवस्था परिवर्तन भए पछि टाठा, बाठा, मात्र चिल्ला पिरा भए । जनताको अबस्था जस्ताको तस्तै भए पछि ब्यवस्था परिवर्तन भएर के गर्ने ? नेताहरु सत्तामा टिकिरहन चाहने गलत प्रवृत्ति हावी छ । शासनसत्तामा सधैं पुरानै अनुहार मात्र दोहोरिए । अहिले पनि तीनै व्यक्तिको हालिमुहाली छ । नेताहरुको कार्यशैलीमा परिवर्तन हुन सकेन । त्यस कारणले पनि देशको उन्नति प्रगति हुन नसकेको हो । आज जनताले परिवर्तनको खासै महसुस गर्न सकेका छैनन् । देशमा राजनीतिक अस्थिरता मात्र बढेर गएको छ । देशमा भ्रष्टाचारले सिमा नाघेको छ । भ्रष्टाचार यसरी मौलाउँदै गएको छ की भनिसाध्य छैन । भ्रष्टाचार नियन्त्रणमा खासै उपलब्धि देखिएन।
आज देशमा दबाब र प्रभावमा गलत कामहरु भैरहेका छन । सबैभन्दा पहिले यस्तो गलत प्रवृत्ति त्याग्नुपर्छ। राजनीतिक दल र तिनका नेता, कर्मचारीहरु निष्ठामा बसेर देश र जनताको हितमा काम गर्नुपर्छ। निष्पक्ष रूपमा न्याय दिलाउने काम गरे भ्रष्टाचार नियन्त्रण हुन्छ। राजनीतिक दलभित्रको आर्थिक पारदर्शिताका विषयमा बेला बेलामा हामी सबैले आवाज उठाउँनु पर्छ । अब देशमा स्थानीय चुनाव हुन थालेको छ । चुनावी खर्चदेखि दललाई दिइने चन्दा पारदर्शी हुनुपर्छ। राजनीतिक दलले कति रकम कसले दियो भनेर आयव्यय सार्वजनिक गर्नुपर्छ । जबसम्म राजनीतिक प्रतिबद्धता हुँदैन, तबसम्म देशमा सुशासन कायम हुँदैन। राजनीतिक दल र तिनका नेताहरुले चुनावमा साम, दाम, दण्ड र भेद सबै प्रयोग गरेर जसरी हुन्छ चुनाव जित्ने ध्यानमा हुन्छन । कतिपय ठेकेदार र व्यापारी पनि अहिले राजनीतिमा लागेका छन्। पार्टीको टिकट पाउने र पैसाको भरमा चुनाव जित्ने पनि उनै हुन्छन । नेपालमा नीतिगत भ्रष्टाचार पनि बढेको छ। यसमा सबै सचेत रहनुपर्छ। निजी स्वार्थका लागि पदको दुरुपयोग पनि बढेको छ। स्थानीय निकायमा सेवासुविधा बढाउने काम भएका छन्। यो पनि नीतिगत भ्रष्टाचार नै हो। यस्तो प्रवृत्तिले देशको आर्थिक स्थिति कमजोर पार्छ। यस विषयमा सरकारले ध्यान दिनु आवश्यक छ।भ्रष्टाचारीलाई कडाभन्दा कडा कानुनी कारबाही हुनुपर्छ। भ्रष्टाचारका मुद्दामा न्यूनतम कारबाही गरिँदा भ्रष्टाचारीको मनोवल बढन सक्छ । यसैले गर्दा बलियो कानुन बनाउनुपर्छ। कार्यान्वयनमा पनि उत्तिकै जोड दिनुपर्छ। भ्रष्टाचार बढ्नु भनेको लोकतन्त्र माथिको खतरा हो । त्यसैले लोकतन्त्र जोगाउन देशमा सुशासन कायम गर्नुपर्छ।
प्रतिक्रिया