Pura Samachar

पश्चिमी सीमा नाका गड्डाचौकी भएर ६०० विदेशी पर्यटक भित्रिए

प्रकाशित: August 12, 2020

पश्चिमी सीमा नाका गड्डाचौकी भएर ६०० विदेशी पर्यटक भित्रिए

महेन्द्रनगर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर यस वर्ष छ सय भन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । विदेशी पर्यटक कोरोना सङ्क्रमण सुरु हुनुअघि नेपाल आएका हुन् । कोरोना सङ्क्रमण सरु भएपछि गत चैतदेखि गड्डाचौकी नाका भएर विदेशी पर्यटक आएका छैनन् ।

गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अनुसार सन २०२० को जनवरीदेखि मार्चसम्म छ सय १८ विदेशी पर्यटक नेपाल आएका छन् । यस अवधिमा पाँच सय १७ जना गड्डाचौकी नाका भएर फर्किएका छन् । तीन महिनामा सबैभन्दा बढी पर्यटक फेब्रुअरीमा आएको कार्यालयको तथ्याङ्कमा छ ।

फेब्रुअरीमा दुई सय ४९ विदेशी पर्यटक आएका छन् । यसैगरी जनवरीमा दुई सय २४ र मार्चमा एक सय ४५ जना आएका छन् । गड्डाचौकी नाकाबाट जनवरीमा सबैभन्दा बढी विदेशी पर्यटक फर्किएका छन् । जनवरीमा दुई सय दुई  पर्यटक फर्किएका छन् ।

गड्डाचौकी नाका भएर सन २०१९ को तुलनामा यो अवधिमा तेब्बर बढी पर्यटक आएका थिए । त्यही हाराहारीमा नाका भएर फर्किएका थिए । सन २०१९ को जनवरीदेखि अगस्टसम्म एक हजार आठ सय ६३ विदेशी पर्यटक नेपाल आएकोमा एक हजार पाँच सय ८० जना गड्डाचौकी नाका भएर फर्किएका थिए ।

अध्यागमन कार्यालयका सूचना अधिकारी शैलेन्द्र बडूले कोरोना सङ्क्रमण फैलिएपछि विदेशी पर्यटक आउन बन्द भएको बताए । “कोरोना सङ्क्रमण फैलिनु अघिसम्म पर्यटक आइरहेका थिए । सङ्क्रमण फैलिएर नाका बन्द भएपछि पर्यटक आउन पूर्णरूपमा बन्द भयो ।” उनले भने ।

प्रतिक्रिया