Pura Samachar

आज (आइतबार) बिहान सत्ता गठबन्धनको बैठक बस्दै

प्रकाशित: February 20, 2022
पूरा समाचार

आज (आइतबार) बिहान सत्ता गठबन्धनको बैठक बस्दै

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँग नेपालले गरेको सम्झौता संसदमा टेबल गर्ने विषयमा सहमति जुटाउन आज (आइतबार) बिहान सत्ता गठबन्धनको बैठक बस्दै छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले  अहिले बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बस्ने तय भएको जानकारी दिए।बैठककको प्रमुख एजेन्डा एमसीसी रहेको उनले बताए।

अन्ततः माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सरकारलाई एमसीसी सम्झौता संसदमा टेबल गर्न दिन सहमत भइसकेका छन्। एकीकृत समाजवादीले त शनिबार स्थायी कमिटी बैठकबाटै एमसीसी टेबल गर्न दिने निर्णय गरिसकेको छ।

माओवादी केन्द्रले भने औपचारिक निर्णय गरिसकेकाे छैन।

‘तर लाइन त्यही हो, एमसीसी संसदमा टेबल गर्न दिन किन रोक्नु भन्ने’, प्रचण्डनिकट स्रोतले नेपालखबरसँग भन्यो, ‘भोटिङमै लाँदा पनि तयार हुनुपर्छ भन्नेमा पुगियो करिब–करिब।’

त्यसो त नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमसीसी सम्झौता संसदमा पेस गर्न पाउनुपर्ने र पास वा फेल जे भए पनि नतिजा स्वीकार गर्ने बताइरहेका छन्।

यसअघि भने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदमा जारी एमाले अवरोध नहटाई र राष्ट्रिय सहमति नभई एमसीसी संसदमा टेबलै गर्न नदिने अडान लिइरहेका थिए। तर प्रधानमन्त्री देउवाले निरन्तर प्रयास जारी राखेपछि उनीहरू एमसीसी जस्ताको तस्तै स्वीकार गर्न नसकिने तर छलफलका लागि प्रतिनिधि सभाको बैठकमा पेस गर्न दिन राजी भएका हुन्।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ भने त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिँदै छ।

प्रतिक्रिया