Pura Samachar

टोटेटहमकाे म्यानचेस्टर सिटीमाथि रोमाञ्चक जित

प्रकाशित: February 20, 2022
पूरा समाचार

टोटेटहमकाे  म्यानचेस्टर सिटीमाथि रोमाञ्चक जित

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनले इन्ज्युरी समयमा गोल गरेपछि टोटेटहम हटस्परले प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीमाथि रोमाञ्चक जित निकालेको छ ।

टोटेनहमले सिटीमाथि उसकै मैदानमा ३–२ को रोमाञ्चक जित निकालेको हो । टोटेनहमको जितमा इंग्लिस फरवार्ड ह्यारी केनले दुई तथा ह्युङ मिन सनले एक गोल गरे । घरेलु टोली सिटीका इल्केए गुन्डोगान र रियाद महारेजले गोल गरेपनि हार टार्न सकेन ।

इतिहाद स्टेडियममा शनिबार राति भएको खेलको चौथो मिनेटमा नै यसै विन्टरमा इटालियन क्लब युभेन्ट्सबाट लोनमा आएका डिजान कुलसेभ्स्कीले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाए । उनले ह्युङ मिन सनको पासलाई सदुपयोग गरेका थिए ।

३३औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले गोलरक्षक ह्युगो लोरिसको गल्तीको फाइदा उठाउँदै गोल गर्न सफल भएका थिए । ५९औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई पुनः २–१ को अग्रता दिलाए । केनले ह्युङ मिन सनको पासमा गोल गरेका थिए ।

७४औं मिनेटमा केनले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । क्रिस्टियन रोमेरोले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि रेफ्रीले सिटीलाई पेनाल्टी प्रदान गर्दा महारेज चुकेनन् ।

तर, इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोटेनहमलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

यो हारसँगै सिटीले शीर्षस्थानमा ९ अंकको अग्रता बनाउने अवसर गुमाएको छ । सिटी लिभरपुलभन्दा ६ अंकले अघि छ । शीर्षस्थानमा रहेको सिटीको २६ खेलबाट ६३ अंक छ । एक खेल कम खेलेको लिभरपुलको ५७ अंक छ । सिटीलाई हराएको टोटेनहम २३ खेलबाट ३९ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

प्रतिक्रिया