
नव प्रवेशी सातदोबाटो युथ क्लबसँग हार बेहोर्दै ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा परेको छ ।
सोमबार सातदोबाटोसँग ३–२ को हार बेहोर्दै बिबिसी लिगको एक खेल बाँकी छँदै रेलिगेसनमा पर्ने दोस्रो टोली बनेको हो । यसअघि ललितपुरकै च्यासल युथ क्लब पनि एक खेल बाँकी छँदै रेलिगेसनमा परेको थियो ।
यो सिजन लिगमा बिबिसीले एक खेल बाँकी छँदा १ खेलमा मात्रै जित हात पार्दा ७ हार चार बराबरीको नतिजा निकाल्यो । बिबिसीले पहिलो राउन्डमा एपिएफलाई ३–२ ले पराजित गरेपछि लिगमा जित निकाल्न सकेन ।
२०६१ म शीर्ष डिभिजन खेलेको बिबिसीले यो सिजनसहित ७ सिजन शीर्ष डिभिजन खेलेको छ । बिबिसी तेस्रोपटक रेलिगेसनमा परेको हो । बिबिसी २०६३ र २०६८ मा रेलिगेसनमा परेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा सातदोबाटोका सुशिल राई, दीपक राज सिंह ठकुरी र निरज चौधरीले गोल गर्दा बिबिसीका बर्टान्ड इवोडे र रोशन राना मगरले बराबरी गोल फर्काएपनि हार टार्न सकेन ।
खेलको तेस्रो मिनेटमा कप्तान मान बहादुर तामाङको क्रसमा सुशिल राईको हेडर पासमा अजायी मार्टिन्सको प्रयासलाई गोलरक्षक गुरुप्रित सिंहले दोस्रो प्रयासमा नियन्त्रणमा लिए । १३औं मिनेटमा सुशिल राईले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए । कप्तान मान बहादुर तामाङको क्रसमा बर्टान्ड इवोडेले नभेटेको बललाई सुशिलले सहजै फिनिस गरेका थिए ।
१६औं मिनेटमा बर्टान्ड इवोडेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । दोर्जे तामाङको फ्रिकिकमा रुडी जोनाथनको प्रहारलाई क्लियर गर्न नसकेको बललाई बर्टान्डले सहजै फिनिस गरेका थिए । १८औं मिनेटमा दीपक राज सिंह ठकुरीले गोल गर्दै सातदोबाटोलाई पुनः २–१ को अग्रता दिलाए ।
अजायी मार्टिन्सको हेड पासलाई दीपकले अफसाइड बिट ट्याप गर्दै गोलरक्षक गुरुप्रित सिंह अघि बढेको अवस्थामा खाली पोस्टमा जाली चुमाएका थिए । उनको प्रयासलाई दिवकार चौधरीले बचाउने प्रयास गरेपनि सफल हुन सकेन । ३०औं मिनेटमा प्रशान्त तामाङको फ्रिकिकलाई गोलरक्षक अभिषेक बरालले पञ्च गर्दै बाहिर पठाउँदा बिबिसी बराबरीबाट चुक्यो ।
५१औं मिनेटमा रोशन राना मगरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । मनोज राईको फ्रिकिकमा रन्दि पौडेलको हेडरलाई गोलरक्षक अभिषेक बरालले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई खाली रहेका रोशनले सहजै जाली चुमाएका थिए । ८७औं मिनेटमा निरज चौधरीले गोल गर्दै सातदोबाटोलाई ३–२ को रोमाञ्चक जित दिलाए ।
यो हारसँगै बिबिसीको १२ खेलबाट ७ अंक छ । बिबिसीको हारले फ्रेन्ड्स क्लबको पनि रेलिगेसन टरेको छ । बिबिसीलाई हराएको सातदोबाटो १२ खेलबाट १८ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । सातदोबाटोले थ्री स्टार र संकटालाई पछि पारेको हो ।
यो सिजन लिगमा बिबिसीले एक खेल बाँकी छँदा १ खेलमा मात्रै जित हात पार्दा ७ हार चार बराबरीको नतिजा निकाल्यो । बिबिसीले पहिलो राउन्डमा एपिएफलाई ३–२ ले पराजित गरेपछि लिगमा जित निकाल्न सकेन ।
यो सँगै लिगको ९ खेल बाँकी छँदै च्याम्पियन र रेलिगेसनमा पर्ने टोलीको टुंगा लागेको छ । मछिन्द्र फुटबल क्लब दुई खेल बाँकी छँदै लिग च्याम्पियन बन्दा च्यासल र बिबिसी एक खेल बाँकी रहँदा रेलिगेसनमा पर्ने टोली बनेको छ ।
प्रतिक्रिया