Pura Samachar

बसको ठक्करले सर्लाहीको हरिवनमा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित: February 22, 2022
पूरा समाचार

बसको ठक्करले सर्लाहीको हरिवनमा मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करले सर्लाहीमा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका १० का २३ वर्षीय युवक निरन उप्रेती रहेको प्रहरीले जनाएको छ।

सोमवार दिउँसो पूर्व पश्चिम राजमार्गको लालबन्दी नगरपालिका १७ रानीगंजमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख १५६१ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्र २ – ०३००६ ह १२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बसले ठक्कर दिएपछि मोटरसाइकल चालक उप्रेती गम्भीर घाइते भएका थिए।

उप्रेतीको दाहिने खुट्टा भाँचिनुका साथै शरीरको विभिन्न भागमा गम्भीर चोट लोको थियो। घटना स्थलमै बेहोस भएका उप्रेतीलाई प्रहरीले उद्धार गरेको थियो। मोटरसाइकलमा पछाडि बसेकी लालबन्दी नगरपालिका ७ की २३ वर्षकी लक्ष्मी विश्वकर्मा पनि घाइते भएकी थिइन्।

घाइते दुवैलाई प्रहरीले उद्धार गरी वीरगंजस्थित गण्डक अस्पताल पुर्‍याउँदा अस्पतालले उप्रेतीको मृत्यु भइसकेको घोषणा गरेको थियो। मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी गराएका छन्।

प्रतिक्रिया