
पहिलो मिनेटमै पुलिसले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पुलिस बराबरीमा रोकिन पुग्यो । खेलमा सम्हालिन नपाउँदै गोल बेहोरेपनि पहिलो हाफमा एपिएफले बराबरी गोल फर्कायन सफल भयो । पुलिसका सुमन लामाले गोल गर्दा एपिएफका प्रदीप लामाले बराबरी गोल फर्काए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको २३ सेकेन्डमा सुमन लामाको गोलमा पुलिसले सुरुवाती अग्रता लिन सफल भयो ।कपिल ढकालको लामो पासमा गोलरक्षक युया कुरियामा र एडमा डोम्वियाबीच तालमेल नमिल्दा गोलरक्षक अघि बढेको अवस्थामा एडमाको कमजोर क्लियरेन्सलाई सुमनले बक्स बाहिरबाट खाली पोस्टमा गा्ल गर्न सफल भएका थिए ।
पाँचौ मिनेटमा तेज तामाङको फ्रिकिकमा निर कुमार राईको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । १६औं मिनेटमा प्रदीप लामाले डि बक्स नजिकैबाट गरेको प्रहार पोस्ट माथिबाट बाहिरिदा एपिएफ बराबरीबाट चुक्यो । २७औं मिनेट रविशंकर पासवानको प्रहारलाई गोलरक्षक युया कुरियामाले पञ्च गर्दै बचाउँदा पुलिस अग्रता दोब्बर पार्नबाट चुक्यो ।
४१औं मिनेटमा प्रदीप लामाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । साजन राईले हेड मार्फत क्लियर गर्न नसकेको बललाई प्रदीपले बक्स बाहिरबाट गरेको प्रहारले जाली चुम्दा गोलरक्षक शत्रुघन कुमार चौधरीले रोक्ने कुनै मौका पाएन ।
५६औं मिनेटमा एपिएफ अग्रता लिनबाट चुक्यो । आशिष लामाले डिबक्स भित्र मिलाइदिएको पासमा अनमार्क रहेका अर्माड विडोउमले प्रहार नै गर्न सकेन । ७३औं मिनेटमा आशिष लामाको प्रहारलाई गोलरक्षक शत्रुघनले पञ्च गर्दै बचाउँदा एपिएफ अग्रता लिनबाट चुक्यो ।
बराबरीपछि एपिएफ १२ खेलबाट १५ अंक जोडेर आठौं स्थानमा तथा पुलिस १२ खेलबाट १२ अंक जोडेर ११औं स्थानमा यथावत रहेको छ । लिग चरणको अन्तिम खेलमा एपिएफले लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसँग तथा पुलिसले न्युरोड टिम (एनआरटी)सँग खेल्ने तालिका छ ।
प्रतिक्रिया