
गण्डकी सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन फागुन २६ गतेका लागि आह्वान गरेको छ।
प्रदेश मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिए।
प्रदेश सभाको हिउँदे अधिवेशनमा कम्तीमा ४ वटा विधेयक पारित गर्ने सरकारको तयारी छ।
विधायन समितिमा आम सञ्चार, बालबालिकाको हकलगायत ४ वटा विधेयक छन् भने सरकारले सूचनाका हकसम्बन्धी नयाँ विधेयक संसदमा दर्ता गर्ने तयारी गरेको छ।
यस्तै, सिँचाइ, खानेपानी र पर्यटनसम्बन्धी विधेयक पनि मस्यौदा तयार गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
हिउँदे अधिवेशनमा यसअघि बनेका विधेयकहरू पनि संशोधन प्रस्ताव लैजाने तयारी गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री विन्दुकुमार थापाले जानकारी दिए।
संघीय कानुन र संविधानसँग बाझिएका र प्रदेशको अधिकार क्षेत्रभन्दा बाहिर देखिएका विधेयक संशोधन गर्ने थापाले बताए।
प्रदेश सरकारले मन्त्री थापाको संयोजकत्वमा विधेयक कार्यान्वयनका जटिलता बुझ्न कानुन अध्ययन समिति गठन गरेको थियो। समितिले दिएको प्रतिवेदनका आधारमा कानुन संशोधन हुने मन्त्री थापाले बताए।
यसअघि प्रदेश सभाको बर्खे अधिवेशन गत असोज ५ गते अन्त्य भएको थियो। प्रदेश सभाको एउटा अधिवेशन अन्त्य भएको मितिले ६ महिनाभित्रै अर्को अधिवेशन आह्वान गर्ने गर्नुपर्ने संवैधानिक बाध्यता छ।
संविधानले तोकेको समयसीमा ख्याल गरेर प्रदेश सभा अधिवेशन आह्वान गरेको हो।
आउँदो चैत ५ गते बर्खे अधिवेशन अन्त्य भएको ६ महिना पुग्ने भएकाले त्यसअघि नै प्रदेश अधिवेशन बोलाएको जनाएको छ।
प्रतिक्रिया