काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जोखिम दिनानुदिन बढ्दै गएपछि सरकारले सवारी पास व्यवस्था रोक्ने निर्णय गरेको छ ।
गृहमन्त्रालयले परिपत्र जारी गरेर कोरोना संक्रमणको जोखिम बढेको भन्दै बिहीबारदेखि देशभर सवारी पास व्यवस्था रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।
“मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएको निर्णय र यस मन्त्रालयबाट भएके निर्देशन समेतको आधारमा हालसम्म तहाँबाट जारी हुँदै आएको सवारी पास व्यवस्थालाई कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म साउन २९ गतेदेखि लागु हुने गरी वितरढा नगर्नु नगराउनु हुन आदेशानुसार अनुरोध छ,” गृहमन्त्रालयका शाखा अधिकृत अमर दीप सुनुवारद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ ।
सरकारले यसअघि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि सवारी पास उपलब्ध गराउँदै आएको थियो । पास प्राप्त सवारी साधनहरु कोरोना संक्रमणविरुद्ध मापदण्ड पालना गरी सञ्चालन हुँदै आएका थिए ।
पछिल्लो कोरोना संक्रमणको जोखिम अत्याधिक बढेको छ । बुधबार मात्रै चार सय ८४ जनामा कोरोना संक्रमण देखिनुका साथै आठ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया