Pura Samachar

चेपाङ बस्तीमा डीआर म्युजिक क्रियशनद्वारा लता कपडा वितरण तथा जागरण गीत छायांकन

प्रकाशित: February 24, 2022
पूरा समाचार

चेपाङ बस्तीमा डीआर म्युजिक क्रियशनद्वारा लता कपडा वितरण तथा जागरण गीत छायांकन

sharethis sharing button

चितवन,
फागुन १२ ।चितवनको चेपाङ समुदायको बसोबास रहेको जिमलिङ चौतारामा डीआर म्युजिक क्रियशनद्वारा लता कपडा वितरण गरिएको छ । कीर्तिमानी गीतकार तथा साहित्यकार डा.डीआर उपाध्यायले यो समुदायमा आएर लता कपडा वितरण गर्नुभएको हो । चेपाङ पत्रकार नेपोलियन चेपाङको गाउँ रहेको जिमलिङ चौतारामा ५५ घर परिवारका सदस्यलाई लता कपडा वितरण गरिएको थियो भने खाना खुवाइएको थियो । सो अवसरमा डा. उपाध्यायको चेपाङ जागरणसम्बन्धी गीतको पनि छायांकन गरिएको थियो ।

पिछडिएको चेपाङ समुदायका विषयमा गीत लेखेर त्यसको छायांकन र राहत कार्यक्रम लिएर आएकोमा डा. उपाध्यायका कार्यलाई सबै चेपाङ समुदायले स्वागत गर्नुका साथै धन्यवाद ज्ञापन गरेका थिए । ‘पिछडिएको समुदाय चेपाङ समुदयमा आएर डा.डीआर उपाध्यायले गरेको सामाजिक कार्य तथा हाम्रै लागि जागरणसम्बन्धी गीत लेख्नु भएकोमा हामी सबै आभारी छौं, यसका लागि उहाँलाई हामी धन्यवाद ज्ञापन गर्दछौ’, पत्रकार नेपोलीयन चेपाङले भन्नुभयो ।

दुई महिना अगाडि नै यो गाउँमा आउने तयारी भए पनि कोरोना संक्रमण र अन्य विविधकारण ढिलो गरी आएको डा.उपाध्यायले बताउनुभयो । ‘मैले हरेक समय केही फरक गर्ने सोचका साथ विभिन्न गीत गरिरहेको छु, तिनीहरूले विश्व रेकर्ड पनि कायम गर्न सफल भएका छन् । यतिबेला पनि यस्तै केही फरक गरौं भनेर चेपाङसम्बन्धी गीत लेखेको छु त्यसैको सिलसिला चेपाङ समुदायलाई नजिकबाट बुझ्न र केही सहयोगको उद्देश्य लिएर आएको हुँ’, डा.उपाध्यायले भन्नुभयो ।

पत्रकार कृष्ण भुसालको नेतृत्वमा आएको टोलीमा डा. उपाध्यायसहित उहाँकी धर्मपत्नी सुनिता खनाल, निर्देशक माइकल चन्द, छायांकार उत्सव दाहाल, कलाकार नम्रता अर्याल, मेकअप आर्टिष्ट अनिता ग्वाच्छा र चालक यमबहादुर घर्तीको सहभागिता रहेको थियो । उहाँहरूले चेपाङ समुदायलाई नजिकबाट बुझ्न पाएको भन्दै उहाँहरूको समस्यालाई समाधान गर्न राज्यबाट पहल हुनुपर्ने, साथै विभिन्न जागरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । चेपाङका विविध समस्या र समाधानसम्बन्धी गीत चाडै नै स्रोता/दर्शकमाझ ल्याउने डा. उपाध्यायले जानकारी गराउनुभयो ।

प्रतिक्रिया