Pura Samachar

बारामा प्रहरीले चलाएको गोली लाग्दा एक जनाको मृत्यु

प्रकाशित: February 24, 2022
पूरा समाचार

बारामा प्रहरीले चलाएको गोली लाग्दा एक जनाको मृत्यु

बारामा प्रहरीले चलाएको गोली लाग्दा एक जनाको मृत्यु भएको छ।

बुधबार राति ११ बजे सिम्रौनगढ नगरपालिका–२ स्थित नेपाल-भारत सीमामा गोली चल्दा एक जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय पुरूष छन्। उनको सनाखत भइनसकेको थापाले बताए। मृतक पुरूषको कम्मरमा गोली लागेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

‘गाँजा तस्करी भइरहेको भन्ने सूचना आएको थियो। सो सूचनाको आधारमा राति हाम्रो टोली खटिएको थियो,’ उनले भने, ‘प्रहरीलाई देखेपछि उनीहरूले सुरूमा हामीमाथि गोली चलाए।’

त्यसपछि जवाफी फायरिङ हुँदा एक जनामाथि गोलीले लागेको उनले बताए। ती तस्करी गर्नेहरू ७/८ जनाको समूहमा रहेको उनले बताए।

‘दुई जनालाई हामीले पक्राउ गर्न भ्यायौं। अरू भागे,’ उनले भने,‘एक जना गोली लागेर घाइते भएका थिए। उनलाई अस्पताल पुर्‍याएका थियौं। त्यही उपचारको क्रममा मृत्यु भएको हो।’

घाइते भएका उनलाई कलैया अस्पताल लगिएको थियो। त्यहाँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले भारतको विहार मोतिहारी जिल्ला ग्राम पिपराका ४० वर्षीय हृदयश गिरीलाई पक्राउ गरेको छ।

उनीबाट प्रहरीले ७५ किलो गाँजा पनि बरामद गरेको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

प्रतिक्रिया