Pura Samachar

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबारको प्रतिनिधिसभा बैठकमा अवरोध जारी राख्ने

प्रकाशित: February 24, 2022
पूरा समाचार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबारको प्रतिनिधिसभा बैठकमा अवरोध जारी राख्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबारको प्रतिनिधिसभा बैठकमा अवरोध जारी राख्ने भएको छ ।

एमालेले प्रतिनिधिसभामा आजदेखि शुरु हुने अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा पनि भाग नलिने निर्णय गरेको छ ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले आज बस्ने प्रतिनिधिसभा बैठकको संसदीय प्रक्रियामा भाग नलिने बताउनुभयो । संसदमा आफूहरुको माग पूरा नभएसम्म संसदीय प्रक्रियामा भाग नलिने उहाँको भनाइ छ ।

आजको संसद् बैठकमा एमसीसी माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । गत आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल भएको हो ।

एमाले एमसीसीको वबषयमा मौन भए पनि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्ला केही दिनयता भेटघाट बाक्लिएको छ । भेटवार्तामा भएका छलफलहरू सार्वजनिक गरिएका छैनन् । देउवा र ओलीबीच एमसीसी अनुमोदन गर्ने सहमति भएको हुन सक्ने अनुमान पनि गरिएको छ ।

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले एमालेको समर्थनमा संसदबाट एमसीसी अनुमोदन गर्ने र त्यसपछि प्रधानमन्त्रीले एमालेको माग सम्बोधन गर्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया