
नेकपा एमालेका नेता विष्णु रिजालले पाँच दलीय गठबन्धन रहँदासम्म प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो पार्टीले कुनै सहकार्य नगर्ने बताएका छन्। अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग मित्रताको हात बढाइरहेका बेला एमाले प्रचार विभाग उपप्रमुख रिजालले निराशाजनक अभिव्यक्ति दिएका हुन्।
उनले शुक्रबार अपराह्न भनेका छन्, ‘एउटा कुरा स्पष्ट छ– गठबन्धन रहेसम्म पाँच दलीय गठबन्धनको नेताका रूपमा शेरबहादुर देउवासँग नेकपा एमाले कुनै सहकार्य गर्दैन र गठबन्धन सरकारले सदनमा ल्याएका हरेक प्रस्तावका विरुद्धमा दृढतापूर्वक उभिन्छ।’
एमसीसी पारितमा सत्ता गठबन्धनकै दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले असहयोग गर्ने भएपछि प्रधानमन्त्री देउवाले बिहीबार मात्रै अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका शीर्ष नेतासँग दुई चरण वार्ता गरेका थिए। तर रातिसम्म छलफल गर्दा पनि सहमति हुन सकेन।
आज बिहान पुनः छलफल गरी एमसीसी पासका लागि एमाले र कांग्रेसबीच सहमति हुने आकलन गरिएको थियो। तर एमाले अध्यक्ष ओली बिहानै पोखरा गएपछि आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि सरकारले स्थगन गरेको छ। हिजो बिहीबार पनि एमसीसीका पक्षमा बहुमत नपुग्ने देखिएपछि प्रधानमन्त्री देउवाले संसद् बैठक आजका लागि सारेका थिए। तर आज पनि हुन सकेन।
रिजालले माथिको अभिव्यक्ति दिँदै गर्दा एमसीसीकै विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीचसहित दुई पार्टीका शीर्ष नेताबीच बालुवाटार छलफल भइरहेको थियो। छलफलमा माओवादी केन्द्रका तर्फबाट प्रचण्डका साथमा अर्थमन्त्री जनार्दन शर्मा तथा कांग्रेसका तर्फबाट सभापति एवं प्रधानमन्त्री देउवाका साथमा उपसभापति पूर्णबहादुर खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेस महामन्त्री गगन थापा सहभागी भएका थिए।
नेकपा एमालेले एमसीसीमा कांग्रेसलाई साथ दिन सकिने तर सभामुख हटाउनुपर्ने, माधव नेपालसहितका १४ सांसदको पद खारेज हुनुपर्ने र गठबन्धन भत्किनुपर्ने सर्त राखेपछि प्रधानमन्त्री देउवाले फेरि गठबन्धनमै रहेका नेताहरुसँग छलफल गरेका हुन्।
प्रतिक्रिया