Pura Samachar

न्युरोड टिम एनआरटी लिगको तेस्रो स्थानमा

प्रकाशित: February 26, 2022
पूरा समाचार

न्युरोड टिम एनआरटी लिगको तेस्रो स्थानमा

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले लिगको आफ्नो अन्तिम खेलमा जित निकालेको छ ।

शनिबार भएको खेलमा एनआरटीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ ले हराएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक गोलको अग्रता उल्टाएर एनआरटीले जित निकालेको हो ।

एनआरटीलाई जित दिलाउन मेसुके ओलोमोउले ह्याट्रिक गोल गरे ।

खेलको १२ औं मिनेटमा एनआरटीका डिफेन्डर शिव गुरुङले आत्मघाती गोल गरेपछि पुलिसले अग्रता बनाएको हो ।

पुलिसका रबि शंकर पासवानको सशक्त प्रहार क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरे ।

तर, खेलको ४७ औं मिनेटमा मेसुकेले गोल गर्दै एनआरटीलाई १-१ को बराबरीमा ल्याए ।

कप्तान दर्शन गुरुङले उपलब्ध गराएको बलमा उनले सहजै गोल गरे ।

खेलको ६२ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २-१ को अग्रता दिलाए । एरिक विष्टको फ्रि-किकमा उनले हेडरमार्फत गोल गरे ।

त्यसपछि खेलको ८३ औं मिनेटमा मेसुकेले ह्याट्रिक पूरा गर्दै एनआरटीलाई ३-१ को जित दिलाए । उनले एकल प्रयासमा गोल गरेका हुन् ।

यस जितसँगै एनआरटीले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको छ ।

एनआरटीले १३ खेलमा २३ अंक जोड्यो ।

आर्मीसँग अंक बराबर भएपछि हेड टु हेडमा एनआरटी पछि परेको हो ।

पुलिसले १३ खेल १२ अंक जोड्यो । पुलिस ११ औं स्थान रह्यो ।

प्रतिक्रिया