Pura Samachar

त्रिभुवन आर्मी क्लब ए’ डिभिजन लिग फुटबलमा दोस्रो स्थान हासिल

प्रकाशित: February 26, 2022
पूरा समाचार

त्रिभुवन आर्मी क्लब ए’ डिभिजन लिग फुटबलमा दोस्रो स्थान हासिल

काठमाडौं । त्रिभुवन आर्मी क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो स्थान हासिल गरेको छ ।

आफ्नो अन्तिम लिग खेलमा शनिबार मनाङ मर्स्याङ्दी क्लबसँग १-१ गोलको बराबरी खेलेपछि आर्मीले दोस्रो स्थान हासिल गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा सुरुआती अग्रता भने मनाङले बनाएको थियो ।

खेलको ४५ औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।

पुजन उपरकोटीको कर्नरमा दिनेश राजवंशीको प्रहार गोलकिपर विकेश कुथुले रोकेपछि आएको रिबाउन्डमा अन्जनले गोल गरे ।

तर, खेलको ७६ औं मिनेटमा मनाङका डिफेन्डर फ्रान्कलिन कुएटाले आत्मघाती गोल गरेपछि आर्मीले १-१ गोलको बराबरी गरेको हो ।

सन्तोष तामाङको फ्रि-किक मनाङका गोलकिपर अशोक बरालले रोकेपछि फ्रान्कलिनलाई लाग्दै गोल भएको थियो ।

यस बराबरीसँगै आर्मीले १३ खेलमा २३ अंक जोड्यो । र, आर्मी लिगको उपविजेता बन्यो ।

न्युरोड टिम एनआरटीसँग अंक बराबरी भएपनि हेड टु हेडमा आर्मी अघि रहेको हो ।

लिगमा अपराजित रहेको आर्मीले यस सिजन ५ जित र ८ बराबरी खेल्यो ।

लिगको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ ।

मनाङले १३ खेलमा २१ अंक जोड्यो । मनाङले पाँचौं स्थानमा रहदै लिगको अन्त्य गरेको छ ।

मनाङले ६ जित ३ बराबरी र ४ हार व्यहोर्यो ।

प्रतिक्रिया