
काठमाडौं । विभिन्न ८ दलले भोलि फागुन १६ गते नेपाल बन्द गर्ने भएका छन् । प्रतिनिधिसभा बैठकले संसदबाट एमसीसी अनुमाेदन गरेसँगै विभिन्न दलहरुले सोमबार नेपाल बन्द गर्ने घोषणा गरेका हुन् ।
फागुन १५ गते ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । विभिन्न ८ दलले संयुक्त विज्ञप्ति जारी गर्दै फागुन १५ गते बेलुका देशव्यापी मशाल जुलुस गर्ने र फागुन १६ गते नेपाल बन्द गर्ने जनाएका हुन् ।
‘नेपालका कान्तिकारी, देशभक्त, प्रगतिशिल राजनैतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मुर्खता गरिरहेको छ । यसको विरुद्ध राष्ट्रिय रुपमा प्रतिवाद संघर्ष संचालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकोले विषयको यही संवेदनशिलतालाई दृष्टिगत गरी हामी ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले तत्कालिक जनसंघर्षको कार्यक्रम घोषणा गरेका छौं । यसलाई पुरै तागतका साथ सफल पार्न देशभक्त, बामपन्थी, प्रगतिशिल, सच्चा लोकतन्त्रवादीहरु लगायत आम जनसमुदायमा विनम्र अनुरोध गर्दछौ । साथै आज एमसीसी विरुद्धको आन्दोलनमा घाईते सम्पुर्ण देशभक्त योद्धाहरुको स्वास्थ्यलाभको कामना गर्दछौ ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया