Pura Samachar

खप्तड गोल्डकप फुटबल: बागमती युथ क्लब सर्लाहीको जीत

प्रकाशित: March 5, 2022
पूरा समाचार

खप्तड गोल्डकप फुटबल: बागमती युथ क्लब सर्लाहीको जीत

काठमाडौं । ए डिभिजन क्लब न्युरोड टिम एनआरटी धनगढीमा जारी सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

धनगढी रंगशालामा शुक्रबार बागमती युथ क्लबसँग पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित भएपछि एनआरटी बाहिरिएको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा बागमतीका अमुल श्रेष्ठ, बिजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गरे

उसका सुमन राई पेनाल्टीमा चुके ।

एनआरटीका शिव गुरुङ, दिपेश घले र मेसुके ओलोमोउले गोल गरे । तर,  आन्द्रे थिएरी र सन्जिब विष्टले पेनाल्टीमा गोल गर्न सकेनन् ।

पेनाल्टी अघि एनआरटीले दुई गोलको अग्रता जोगाउन सकेन । जसको कारण एनआरटी पहिलो खेलबाटै बाहिरिन बाध्य भयो ।

खेलको ६८ औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।

खेलको ७४ औं मिनेटमा स्टेफेनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २-० को अग्रता दिलाए ।

तर, खेलको ८३ औं मिनेटमा विमल घिसिङले गोल गर्दै बागमतीलाई २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा विजय घलानले गोल गर्दै बागमतीलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।

यस जितसँगै बागमती क्वाटरफाइनलमा पुगेको छ ।

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गरिरहेको छ । प्रत्यक्ष प्रशारण फेसबुक पेज र युट्युबबाट हेर्न सकिनेछ ।

प्रतिक्रिया