Pura Samachar

कीर्तिमानी गीतकार डा. उपाध्यायको एउटै गीतमा १५० भन्दा बढी ड्रेस परिवर्तन

प्रकाशित: March 5, 2022
पूरा समाचार

कीर्तिमानी गीतकार डा. उपाध्यायको एउटै गीतमा १५० भन्दा बढी ड्रेस परिवर्तन

sharethis sharing button

कीर्तिमानी गीतकार डा. उपाध्यायको एउटै गीतमा १५० भन्दा बढी ड्रेस परिवर्तन

काठमाडौं । सूर्यविनायकबाट साढे चार किलोमिटरको उकालो चढेपछि पुगिन्छ सुन्दर प्राकृतिक मनोरम घ्याम्पे डाँडामा । भक्तपुरको अनन्त लिंगेश्वर नगरपालिका-१३ मा पर्ने घ्याम्पे डाँडाबाट सूर्योदयको मजा छुट्टै रहेको छ । चारैतिर हरियाली र सेतो बादलमुनि आकाश छुनै आँटे जस्ता देखिने अग्ला डाँडाकाँडाहरूले लोभ्याउँछ यहाँ । यहाँबाट देखिने सुन्दर हिमशृंखलाले थप आकर्षित गर्दछ जोकोहीलाई ।

यही प्रकृतिको मनोरम ठाउँमा बुधबार बिहान सूर्योदयसँगै देखियो फरक दृश्य । डाँडामा रहेको मैदानमा एक हुल मानिस थिए, जहाँबाट हरेक दुई-तीन सेकेन्डमा आइरहेको थियो ‘रोलिङ’, ‘एक्सन’ र ‘ड्रेस चेन्ज’ जस्ता शब्द । प्रसंग रहेछ कीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको गीतको भिडियो छायांकन । यो गीतको भिडियो पनि कीर्तिमानका लागि गरिँदै रहेछ । स्थानीयले पनि कौतुहलतापूर्वक त्यहाँ भएका दृश्य नियालिरहेका थिए । ‘यस ठाउँमा भिडियो तथा चलचित्रका धेरै छायांकन देखिएको तर यस्तो चाहिँ पहिलोपल्ट देख्दै छौँ,’ स्थानीय पर्यटन व्यवसायी रामजी अवालले भन्नुभयो । यो गीतको भिडियोको कौतुहलताको कारण थियो हरेक दुई-तीन सेकेन्डमा ड्रेस परिवर्तन । पूरा गीतमा १५० भन्दा बढी ड्रेस परिवर्तन गरिएको निर्देशक माइकल चन्दले बताउनुभयो । ‘धेरै गीतको भिडियो छायांकन गरियो तर यो पृथक् शैलीको गीतको भिडियो छायांकन गर्दै छौँ, यसको विशेष महत्व आफ्नो ठाउँमा छँदैछ तर चुनौती पनि त्यत्तिकै रहेको छ,’ छायांकर उत्सव दाहालले भन्नुभयो । डा. उपाध्यायले छिन–छिनमा लुगा परिवर्तन गरेको दृश्य अनौठो र फरक शैलीको रहेको थियो ।

‘मैले हरेक समय केही फरक गर्ने सोचका साथ विभिन्न गीत गरिरहेको छु, तिनीहरूले विश्व रेकर्ड पनि कायम गर्न सफल भएका छन् । यतिबेला पनि यस्तै केही फरक गरौँ भनेर यो गीतको छायांकन फरक शैलीमा गरेको हुँ, एउटै गीतमा १५० ड्रेस परिवर्तन भएको विश्वमा छैन, हामीले त्योभन्दा बढी गरेका छौँ,’ डा. उपाध्यायले भन्नुभयो ।

छायांकनमा सुनिता खनाल, मेकअप आर्टिस्ट अनिता ग्वाच्छा, सुविन गदार, यमबहादुर घर्तीलगायतको सहभागिता रहेको थियो भने भिडियोमा डा. उपाध्यायसँग कलाकार प्रतिमा विष्ट रहनुभएको थियो ।

गीतकार उपाध्यायको यो गीत ‘जिन्दगीका अनेक रूपरंग समेट्दै…’ मा स्वर तथा संगीत सागर अधिकारीको रहेको छ । गीतको भिडियो केही समयपछि डिआर म्युजिक क्रियसनमार्फत् सार्वजनिक गरिने बताइएको छ । साभार हिमालय टाइम्स बाट

facebook sharing button
twitter sharing button
sharethis sharing button

 

प्रतिक्रिया