Pura Samachar

नेकपा कार्यदलले काम सुरु गर्‍यो, कार्यादेशका लागि सचिवालय बैठक बोलाउने तयारी

प्रकाशित: August 16, 2020

नेकपा कार्यदलले काम सुरु गर्‍यो, कार्यादेशका लागि सचिवालय बैठक बोलाउने तयारी

काठमाडौं । पार्टीभित्रको विवाद सुल्झाउन गठित नेकपा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले काम सुरु गरेको छ । शनिबार दिउँसो औपचारिक बैठक बसेर काम सुरु गरिएको कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलमा पौडेलका अतिरिक्त स्थायी कमिटी सदस्य भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शङ्कर पोखरेल, पम्फा भुसाल सदस्य छन् ।

“आज सामान्य छलफल भयो । पहिलो दिन भएकाले विषय प्रवेश भएन,” एक सदस्यले भने ।

कार्यदलको कार्यदेशबारे पनि विवाद उत्पन्न भएको छ । सचिवालयका सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न पनि उठाएका छन् । खुमलटारमा शनिबार बिहान प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको अनौपचारिक बैठक बसेको थियो । बैठकमा शुक्रबार गठन गरिएको कार्यदल र त्यसलाई दिएको कार्यादेशबारे प्रश्न उठेको बताइएको छ ।

बैठकले सचिवालय बैठक बोलाएर कार्यादेश दिने निष्कर्ष निकालेको थियो । र, सचिवालय बैठक बोलाउन माग गरेको थियो । आइतबार सचिवालय बैठक बस्ने सम्भावना रहेको खनालले जानकारी दिए ।

“अहिलेसम्म बैठकको जानकारी आएको छैन । भोलि बस्ने सम्भावना छ,” उनले भने ।

यसैबीच सचिवालयका तीनजना नेताको असहमतिप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले टिप्पणी गरेका छन् । पार्टी एकता र सहमतिको प्रक्रिया जे जसरी भए पनि अघि बढ्नु स्वयम्मा निकै खुसीको कुरा भन्दै यसमा कसैले तर, किन्तु, परन्तु, यद्यपि, तथापि भनेर असन्तुष्टि, गुनासो र भ्रर्त्सना गरेको स्वीकार्य हुन नसक्ने बताए ।

“केही अघिसम्मको चार जनाको मोर्चा कार्यदल गठनसँगै तीन जनातिर खुम्चिंदै जानु सकारात्मक सङ्केत हो । दुईजना अध्यक्षबीचको समझदारी, पारस्परिक विश्वास र सरसल्लाहबाट निकालिने निष्कर्ष नै नेकपाको हकमा विधानसम्मत, सही र संस्थागत प्रक्रिया हो । विधि, पद्दति र संस्थागत कार्यपद्धति पनि यही हो,” उनले भनेका छन् ।
शनिबार खुमलटार बैठकमा सचिवालय अथवा स्थायी कमिटीले कार्यदल बनाउनुपर्ने भन्दै नेताहरूले कुरा उठाएको स्रोतले बताएको छ । थापाको टिप्पणी त्यतै लक्षित हुन सक्छ । उनले थप भनेका छन्, “दुईजना अध्यक्षबीच विवाद र अविश्वास बढाएर आफ्नो स्वार्थसिद्ध गर्ने दाउपेचमा कोही संलग्न भएर आफ्नो इतिहास, भूमिका र सार्वजनिक प्रतिष्ठालाई क्षयीकरण गर्ने भूल नगरेकै राम्रो होला । पार्टीमा सहमति, एकता र पारस्परिक सम्मान बढाउने हरेक सकारात्मक प्रयत्नमा सके खुला दिलले सहयोग गर्न अग्रसर भए हुन्छ, नसके आत्मकेन्द्रित, गुटगत र स्वार्थी चलखेलमा सक्रियता नदेखाउनु नै समयोचित र उपयुक्त कदम हुनेछ ! चेतना भया !”

प्रतिक्रिया