Pura Samachar

एकदिवसिय महिला विश्वकप: अष्ट्रेलिया शीर्ष स्थानमा

प्रकाशित: March 8, 2022
पूरा समाचार

एकदिवसिय महिला विश्वकप: अष्ट्रेलिया शीर्ष स्थानमा

एजेन्सी – ओपनर तथा विकेटकिपर एलिसा हेलीको अर्धशतकको सहयोगमा अष्ट्रेलियाले न्युजिल्यान्डमा जारी एकदिवसिय महिला विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । अष्ट्रेलियाले मंगलबार पाकिस्तानलाई ७ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ ।

१ सय ९१ रनको विजयी लक्ष्य अष्ट्रेलियाले ३४.४ ओभरमा ३ विकेट गुमाउँदै सहजै पूरा गर्यो । अष्ट्रेलियाको जितमा ओपनर एलिसा हेलीले ७९ बलमा ७ चौकासहित सर्वाधिक ७२ रनमा आउट भइन् । अर्की ओपनर राहेल हेन्स ३४ बलमा ७ चौकासहित ३४ रनमा आउट भइन् । कप्तान मेग लर्निङ ३५, एलिसा पेरी २६ र बेथ मुनीले २३ रन बनाए । पाकिस्तानकी ओमाइमा सोहेलले २ र नर्षा सन्धुले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो । कप्तान विस्माह मारुफ १ सय २२ बलमा ८ चौकासहित ७८ रनमा अविजित रहिन् । आलिया रियाज १ सय ९ बलमा ४ चौकासहित ५३ रन जोडिन् । एक समय १२.५ ओभरमा ४४–४ को कमजोर अवस्थामा पुगेको पाकिस्तानलाई पाँचौं विकेटका लागि मारुफ र रियाजले १ सय ८९ बलमा ९९ रनको साझेदारी गरेका थिए ।

अष्ट्रेलिया अलाना किंगले सर्वाधिक दुई विकेट लिइन् । मेगन स्कट, एलिसा पेरी, निकोल केरी र अमान्डा–जेड वेलिंग्टनले १–१ विकेट लिए ।
अष्ट्रेलियाले पहिलो खेलमा इंग्ल्यान्डलाई १२ रनले हराएको थियो । अव आइतबार घरेलु टोली न्युजिल्यान्डसँग खेल्नेछ । पाकिस्तान पहिलो खेलमा भारतसँग १ सय ७ रनले पराजित भएको थियो । शुक्रबार दक्षिण अफ्रिकासँग खेल्नेछ ।

प्रतिक्रिया