Pura Samachar

नेपालको लगातार दोस्रो

प्रकाशित: March 8, 2022
पूरा समाचार

नेपालको  लगातार दोस्रो

काठमाडौं । बलरहरुले उच्च प्रदर्शन गरेपछि श्रीलंका भ्रमणमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा नेभी स्पोटर््स क्लबलाई ८१ रनले पराजित गरेको छ । श्रीलंका भ्रमणमा नेपालको यो लगातार दोस्रो जित हो ।

नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेभी ३०.५ ओभरमा १ सय १५ रनमा अल आउट भयो । नेपालका लागि स्पिनर पवन सरार्फले ३ र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । सन्दीप लामिछाने, विक्रम सोब र कुशल भुर्तेलले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको नेपाल ४३.४ ओभरमा १ सय ९६ रनमा अल आउट भएको थियो । नेपालका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६३ रन बनाए । नेपाल पहिलो खेलमा सोमबार नेभीसँगनै ३७.१ ओभरमा २ सय १४ रनमा अल आउट भएको थियो । उक्त खेलमा दीपेन्द्रलेनै सर्वाधिक ४३ रन बनाएका थिए ।

तल्लोक्रमका ब्याटर भीम सार्कीले २८, पवन सरार्फले २२ र विवेक यादवले २६ रन बनाए । नेपालका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । खराब ब्याटिङ गर्नेक्रममा श्रीलंकाको स्थानिय क्लबसँग नेपालको सिनियर टोलीका शीर्षक्रमका प्रमुख चार ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालले ओपनर ज्ञानेन्द्र मल्ल १ र कुशल भुर्तेल ३ रनमा गुमाएको थियो । त्यसपछि युवा ब्याटर रोहित कुमार पौडेल ३ र विनोद भण्डारी २ रनमा आउट भएपछि नेपालले निकै खराब सुरुवात गरेको थियो । खराब सुरुवात गर्नेक्रममा नेपालले सुरुवाती ३० रन जोड्न प्रमुख चार ब्याटर गुमाएको थियो । त्यसपछि मध्यक्रम र तल्लोक्रमका ब्याटरले इनिङ उकासेका थिए । विक्रम सोब १ र सागर ढकाल ८ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने १४ रनमा अविजित रहे ।

नेपालले अर्को सातापछि युनाइटेड अरव इमिरेट्स (युएई) मा हुने आइसिसी विश्वकप लिग -२ को तयारीको लागि चार अभ्यास खेल खेल्न श्रीलंका गएको हो । तेस्रो अभ्यास खेलमा मार्च ११ मा श्रीलंका पुलिस र मार्च १२ मा कोलोम्बो ११ सँग खेल्ने छ । कोलोम्बो ११ मा प्रथम श्रेणी खेल खेलेका खेलाडी हुनेछन् ।

मार्च १४ मा नेपाल युएई पुग्नेछ । विश्वकप लिग-२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दै सुरुवात गर्नेछ । २२ मार्च सम्म नेपाल युएईमा रहनेछ । त्यसपछि नेपाल स्वदेश फर्किनेछ । पिएनजीपनि नेपाल आउनेछ । पिएनजी र नेपालबीच दुई ओडिआई खेल हुनेछ । नेपाल, पिएनजी र मलेसियाबीच त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ ।

नेपालले चैत ११ (मार्च २५ ) मा पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेल खेल्ने छ । चैत १२ (२६ मार्च) मा दोस्रो ओडिआई खेल खेल्ने छ । त्रिकोणात्मक टि२० आई सिरिज भने चैत १४ देखि २१ गर्ते ( मार्च २८ देखि ४ अप्रिल) सम्म टियु मैदानमा हुनेछ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।

युएई भ्रमणमा नेपालको तालिका

१६ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, शाहजाह क्रिकेट स्टेडियम

१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम

२१ मार्च नेपालविरुद्ध युएई, दुबई

२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई

नेपाल र पपुवा न्युगिनीबीचको दुई ओडिआई सिरिज

चैत ११ ( मार्च २५) : नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान

चैत १२ ( मार्च २६) : नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान

प्रतिक्रिया