Pura Samachar

बागमती युवा क्लब सेमिफाइनलमा प्रवेश ४-२ मछिन्द्र फुटबल क्लब पराजित

प्रकाशित: March 8, 2022
पूरा समाचार

बागमती युवा क्लब सेमिफाइनलमा प्रवेश ४-२ मछिन्द्र फुटबल क्लब पराजित

काठमाडौं – ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई स्तब्ध पार्दै बागमती युवा क्लब सर्लाही पाँचौ सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा मछिन्द्र फुटबल क्लबलाई ४-२ ले पराजित गर्दै बागमती अन्तिम चारमा प्रवेश गरेको हो ।निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो । दुवै टोलीले टाइब्रेकरको सुरुवाती २-२ प्रहारमा गोल गरेका थिए । टाइब्रेकरमा मछिन्द्रका विशाल राईले तेस्रो टाइब्रेकर प्रहार बाहिर प्रहार गरेपनि गोलरक्षक विशाल श्रेष्ठले लगत्तै दिवस लिम्बुको प्रहार रोक्दै मछिन्द्रलाई खेलमा कायम राखे । तर मछिन्द्रका ओमोलाजा नुरेन करीमले बाहिर प्रहार गरेपछि बागमतीलाई जितको आधार तय भएको थियो ।

खेलपछि बोल्दै प्रशिक्षक प्रवेश कटुवालले निर्धारित ९० मिनेटमा पाएको अवसर सदुपयोग गर्न नसक्नु हारको कारण रहेको बताए । ‘हामीले पाएको अवसर सदुपयोग गर्न सकेनौं । मैदानको कारण पनि खेलाडीले आफ्नो शत प्रतिशत दिन सकेनन् । विपक्षी टोलीको बराबरी गर्दै टाइब्रेकर पुर्याउने लक्ष्य थियो, तर हामी जित्न चाहन्थ्यौं । तर उनीहरुले खेल अन्त्यसम्म लगे र टाइब्रेकरमा जिते,’ कटुवालले खेलपछि भने ।

यसअघि बागमतीले ए डिभिजनको न्यु रोड टिम (एनआरटी) लाई पराजित गरेको थियो । सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । विहीबार बागमतीले फ्रेन्ड्स क्लबसँग खेल्नेछ ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख र दोस्रो टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदीयमान खेलाडीले समान २५ हजार प्राप्त गर्नेछन् । फेयर प्ले टोलीले २५ हजार पाउने प्रतिायेगिताको हरेक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया